कर्णालीमा बजेट कार्यान्वयनमा सुधार ल्याउन एक्सनमै उत्रिए, मुख्यमन्त्री कँडेल

सुर्खेत– प्रदेशमा बजेट कार्यान्वयनको अवस्था कमजोर भएपछि मुख्यमन्त्री यामलाल कँडेलले कार्यालय प्रमुखहरुलाई बोलाएर आफूसहित सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री कँडेलले विहीबार चालू आर्थिक वर्षको शुरुवातसंगै प्रदेशका १३४ वटा कार्यालयका प्रमुखहरुसंग प्रत्यक्ष संवाद गर्दै बजेट खर्च र सुशासनसम्बन्धी ९ बुँदे सामूहिक प्रतिवद्धता गराए ।


प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन सामूहिक प्रतिवद्धता गराइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा शुरुवात देखिनै अग्रसरता लिनुपर्ने निष्कर्षसहित प्रदेश सरकारका मन्त्रालयसहित १० वटै जिल्लामा रहेका १३४ वटा कार्यालयका प्रमुखलाई प्रदेश राजधानी वीरेन्द्रनगर भेला गरिएको थियो । भेला आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा र चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको योजना तयारीसम्बन्धमा केन्द्रीत थियो ।

भेलामा मुख्यमन्त्री कँडेलले नीति निर्माण र बजेट पारित जनप्रतिनिधि गर्ने भएपनि यसको कार्यान्वयनमा स्थायी सरकार मानिने कर्मचारी संयन्त्रको ठूलो भूमिका रहने बताए । प्रदेशसभाबाट बजेट पास भएर मात्रै विकासले गति लिन नसक्ने आफूलाई राम्रोसँग हेक्का रहेको भन्दै उनले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हालेका प्रमुखहरुको टिमले नै सक्रियता देखाउनुपर्ने निर्देशन दिए । कर्णालीको अवस्था र मनस्थितिबारे आफूलाई भन्दा कर्मचारी संयन्त्रलाई बढी जानकारी रहेको बताउँदै उनले भने, ‘सरकारी तथ्याङ्क र आँकाडाप्रति औला ठडिन नदिने गरि परिणाम निकाल्न आग्रह गर्दछु ।’

बजेट पास हुने बित्तिकै बर्खा लाग्ने, त्यसपछि चाडपर्व शुरु हुने र हिमाली जिल्लामा चिसोको मौसम देखाउँदै बजेट कार्यान्वयनमा गरिएको लापरबाहीलाई अब छुट दिन नसकिने उनको भनाई थियो । ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटका कार्यक्रमहरुमा जस जसले पहल गरे पनि त्यो सेवाग्राहीको लागि हो, मुख्यमन्त्री कँडेलले भने, ‘मेरो पहलमा बजेट आयो भनेर व्यक्तिगत फाइदा उठाउनेप्रति सजग बन्नुस्, योजना ल्याउन पहल गर्नेलाई धन्यवाद दिनुहोला तर ती योजना कुनै व्यक्तिका नभई जनताका लागि हुन भनेर स्पष्ट सन्देश पनि दिनहोला ।’ योजनालाई व्यवसायको रुपमा धन्दा चलाउने प्रवृतिको समूल नष्ट गर्ने अभियानमा आफू रहेको र त्यसमा साथ दिन उनले कार्यालय प्रमुखहरुलाई आव्हान समेत गरे ।

मुख्यमन्त्री कँडेलले जनतामा प्रदेश सरकारको अनुभूति हुने गरि समन्वयकारी भूमिका खेल्न, सुशासनको मामिलामा कठोर कदम चाल्न र सार्वजनिक शिष्टता नैतिकता र आचरणमासमेत कुनै पनि प्रश्न नउठने गरि काम गर्न निर्देशन दिए । कर्मचारीलाई आफूले हेर्ने दृष्टिकोणको उसको कार्यक्षतामा निर्भर हुने उनको भनाई थियो ।
भेलामा प्रमुख सचिव चुडामणि पौडेलले कार्यालय प्रमुखहरुले समस्यामुखी भन्दा समाधानमुखी अवधारणा ल्याउन सके बजेट कार्यान्वयनमा सहजता ल्याउने बताए । उनले मातहतका कर्मचारीको मनोवल उच्च पार्न मुख्यमन्त्रीले लिएको अग्रसरताको प्रशंसासमेत गरे ।

भेलाले प्रदेश सरकार अन्तर्गतका जिल्लास्थित सबै कार्यालयले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण २०८१ साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी तथा कार्यान्वयन गर्न पत्राचार गर्ने, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरु २०८१ भाद्र मसान्तभित्र तर्जुमा र असोज १५ भित्र स्वीकृत गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका सालबसाली आयोजनाहरु २०८१ असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै वहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फछ्र्यौट २०८१ साउन मसान्तभित्र कार्ययोजना बनाई तदारुकताका साथ कार्यान्वयन गर्ने, राजश्वमा वृद्धि गर्ने, आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाई दोस्रो त्रैमासिकदेखि योजना तर्जुमाको काम थालनी गर्ने लगायतका ९ बुँदे प्रतिवद्धता गरिएको छ । उक्त प्रतिवद्धतामा कार्यालय प्रमुखहरुसंगै मुख्यमन्त्रीले समेत हस्ताक्षर गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,