सुर्खेत- स्थानीय मौलिक कला संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले वीरेन्द्रनगरमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।
युवालय र लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतको शाखाको आयोजनामा वीरेन्द्रनगर सिटीहलस्थित प्रांगणमा भोलि (बिहीबार) दिउँसो सञ्चालन हुने कार्यक्रममा कर्णालीका रैथाने कला, संगीतसम्बन्धी विभिन्न प्रस्तुति प्रर्दशन गरिनेछ । विभिन्न मौलिक बाजा, संगित एवं नृत्यहरूमा युवाहरूलाई अग्रसर गराउन युवालयले कक्षा सञ्चालन समेत गर्दै आइरहेको छ ।
सांगीतिक कार्यक्रममा नयाँ पुस्ताले लोपोन्मुख अवस्थामा रहेका आफ्नो समुदायका मौलिक कला संस्कृति समेटिएको प्रस्तुतिलाई प्रर्दशन गर्ने युवालयले जनाएको छ । वाईजी इन्टरटेनमेन्ट कोरियाको सहयोग तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा युवालयद्धारा सञ्चालित “युवासँगको हाम्रो सहयात्रा” परियोजनाले दैलेखको भगवतीमाई र डुङ्गेश्वर गाँउपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तथा सुदुरपश्चिम कैलालीको लम्कीचुहा नगरपालिकामा रैथाने मौलिक तथा लोक संस्कृति जगेर्ना गर्दै युवाहरूलाई आयआर्जनको क्षेत्रमा अग्रसर गराउन युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेतका अध्यक्ष कवि गिरीले सांस्कृतिक कार्यक्रममार्फत युवाहरुले आफ्नो समुदायको मौलिक लोक संस्कृतिलाई प्रर्दशन गर्ने बताए । युवालयका परियोजना संयोजक पुजा कार्कीले पुराना पुस्ताबाट युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगितहरू प्रस्तुत हुने बताइन् । यसले कला संस्कृतिको पुस्तान्तरणमा ठूलो टेवा पुग्ने उनको भनाई छ । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले सञ्चालित परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्य प्रदर्शन गर्ने र संगितको कक्षामा सिकेका पञ्चेबाजा बजाउनेछन् ।
युवालय युवाहरूको नयाँ र उदायमान सवालमा उनीहरूलाई चासो उत्सुकता जगाउने, युवाहरूका मुद्दालाई सामुहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र युवालाई सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालत तथा पैरवी गर्ने गैरसरकारी संस्था हो ।
कर्णाली समय । २१ कार्तिक २०८१, बुधबार १२:३५