सुर्खेत- गंगा ज्योति भाष्कर गणित ग्रन्थ नामक पञ्चांग गणना ग्रन्थ सार्वजनिक भएको छ । पञ्चांगकार ज्योतिषीद्वय गंगाप्रसाद ढुंगाना र पाराश्वर ढुंगानाको संयुक्त लेखनी रहेको ग्रन्थ हालै सार्वजनिक भएको हो ।
नेपालमा पञ्चांग (पात्रो) गणना सूर्य सिद्धान्त ग्रन्थको मूल सूत्रबाट गरिएको उल्लेख गर्दै नेपाल पञ्चांग निर्णायक विकास समितिले त्यसैबमोजिम ज्योतिषीहरूलाई समेत निर्देशन दिँदै आएको छ । पञ्चांग गणनासम्बन्धी ज्योतिष विज्ञानको विकास भइनसकेको समयमा बनेको सूर्य सिद्धान्त ग्रन्थको लेखक नै हालसम्म पत्ता लागेको छैन । यो ग्रन्थ सूर्यले पृथ्वीलाई घुम्छ भन्ने मान्यतामा, सूर्य देवले मय राक्षसलाई बताएको मिथकमा आधारित छ । प्राचीन ग्रन्थ भएको हुँदा यसबाट पञ्चांग गणना गर्नु त्रुटिपूर्ण हुने अनुसन्धानको निष्कर्षका आधारमा नयाँ ग्रन्थ तयार गरिएको लेखकद्वयले बताएका छन् ।
पञ्चांग गणनासम्बन्धी २३ वटा विभिन्न ग्रन्थको विधिबाट पञ्चांग गणना गरी ब्रह्माण्डमा ग्रहहरूको प्रत्यक्ष देखिने (दृग्गति) सँग मिल्ने आधुनिक विधि पत्ता लगाई त्यसको सार खिचेर अनुसन्धानात्मक ग्रन्थ तयार गरिएको दाबी पुस्तकमा गरिएको छ । संस्कृत श्लोक तथा सरल नेपाली भाषामा अर्थ र उदाहरणसहित लेखिएको यस ग्रन्थको अध्ययनबाट ज्योतिष गणितसम्बन्धी सामान्य ज्ञान भएका जो–कोहीले पनि सजिलै पात्रो बनाउन सक्ने लेखकद्वयले बताएका छन् ।
पात्रो गणनाको सबै विषयवस्तु समावेश गरिएको पुस्तक हालसम्म नरहेकाले यो ग्रन्थ नै पहिलो ग्रन्थ भएको दाबी गरिएको छ ।
कर्णाली समय । २४ फाल्गुन २०८०, बिहीबार १३:०३