बजेटमा विभेद भयो भन्नु दृष्टिदोष हो, बढी बजेट सुर्खेतमै छ : कांग्रेस नेता शाही

सुर्खेत–नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेटमा विभेद भयो भन्नु दृष्टिदोषमात्र भएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ का लागि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमाथिको सामान्य छलफलमा बुधबार भाग लिँदै उनले यस्तो बताएका हुन्।


नेता शाहीले माननीयहरुले समेत अध्ययनै नगरी हचुवाको भरमा आरोप लगाएको बताए । अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबैभन्दा बढी बजेट सुर्खेतमा परेको उनले तथ्यांक प्रस्तुत गरे । ‘४ अर्ब ८० करोड बजेटमा सबैभन्दा सुर्खेतमा ९५ करोड ११ लाख बजेट छ, त्यो भनेको १९.८१ प्रतिशत हो, दोस्रो दैलेख र तेस्रोमा जाजरकोट, चौथो रुकुम पश्चिममा बजेट छ, हुम्ला जिल्ला आठौं नम्बरमा छ, त्यहाँ ३७ करोड १२ लाख छ बजेट छ,’ उनले भने, सबैभन्दा कम मुगुमा छ । सांसद संख्याकै हिसाबले पनि सुर्खेतमा धेरै हुनुहुन्छ, त्यसरी पनि बजेट बढी सुर्खेतमै छ, कसैलाई उडाउने हिसाबले आरोप लगाउनुभएन ।’

उनले बजेटमा माननीयको मात्र नभई जनताको अनुहार देखिनुपर्ने र विनियोजित बजेट सदुपयोग भयो की भएन माननीयले अनुगमन गर्नुपर्ने जोड दिए । ‘आफूले दिएका योजना कति परे भन्ने मात्र होइन, जनताले दिएका, वडाध्यक्ष, गाउँपालिकाले दिएका पनि परेका होलान्, आफूलाई मात्र केन्द्रमा राख्नुभएन,’ उनले भने ।
प्रदेश राजधानीको विकासमा आफूले धेरै प्रयत्न गरेको नेता शाहीको भनाई छ । ‘प्रदेशको राजधानी सुर्खेत हुनेवाला थिएन, हामीले गैरसरकारी विधेयक ल्याएर राजधानी घोषणा गरेको हो, सरकारै मन्त्रीहरुले अन्यत्र प्रस्ताव गरेर असहमति प्रकट गरेका थिए,’ निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेता शाहीले भने, ‘पहिलेको राजधानी र अहिलेको राजधानी हेरौं, कति विकास भएको छ ?’ साथै उनले तत्कालिन प्रदेशसभामा सुर्खेतका सांसद यामलाल कँडेल प्रदेशसभामा नभएको भए प्रदेश राजधानी सुर्खेत कायम हुन नसक्ने ठोकुवा गरे ।

निर्वाचन क्षेत्र विकास कोषले सबै क्षेत्रको समानुपातिक बजेट वितरणमा मद्दत पु¥याएको भन्दै उनले नकारात्मक रुपमा मात्र बुझ्न नहुने धारणा राखे । आफ्नो पालामा १५ लाख रुपैयाँ भन्दा कम लागतका योजना समावेश नगरेको प्रष्ट पारे । यसपटक प्रदेश सरकारले उक्त नीति अवलम्बन नगरेको भन्दै उनले सच्याउन आग्रह गरे । ‘जलाधार र कृषिका केही आयोजनाबाहेक १५ लाखमूनीका योजना समावेश नगर्न मन्त्रीहरुलाई भनिएको हो, अन्तर सरकारी वित्तीय हस्तान्तरणमा १५ भन्दा तलको बजेट आयो,’ उनले प्रश्न गरे, जब नीतिमा अड्दैनौं भने हामी कसरी अघि बढ्न सक्छौं ?’

नेता शाहीले कर्णालीको पहिलो प्राथमिकता भौतिक पूर्वाधार नै रहेकाले अन्य क्षेत्रभन्दा बढी बजेट विनियोजन हुनु स्वभाविकै भएको औंल्याए । दशौं राष्ट्रिय खेलकूदका लागि प्रदेश गौरवको रंगशाला निर्माण आयोजनाको धेरै काम भएको यसले प्राथमिकता पाउने बताए । वीरेन्द्रनगरमा रंगशाला निर्माण र सडक स्तरोन्नतिका लागि धेरै काम भएको उनको दाबी छ ।