दिगो, व्यवस्थित र समावेशी शहर निर्माण प्राथमिकतामा : नगर प्रमुख ढकाल

सुर्खेत– उपमहानगरपालिका घोषणाको पखाईमा रहेको वीरेन्द्रनगरले स्थापनाको ५० वर्षको अवधिमा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । नगरपालिकाले पछिल्ला वर्ष सडक सञ्जाल विस्तार, खानेपानी, सहरी सौन्दर्यीकरण, पार्क, ट्राफिक व्यवस्थापन, सडक बत्ती र पर्यटन पूर्वाधार निर्माणलाई मुख्य उपलब्धि हासिल गरेको हो ।

२०२९ माघ १६ गते उच्चस्तरीय प्राविधिक टोलीद्वारा तयार गरिएको नगर योजनाका आधारमा २०३३ सालमा नगर पञ्चायत घोषणा भएपछि स्थापना भएको वीरेन्द्रनगर अहिले उपमहानगरपालिकामा स्तरोन्नतिको तयारीमा पुगेको छ । नगरपालिकाका अनुसार आवश्यक पूर्वाधार, जनसंख्या र राजस्वका मापदण्ड पूरा गर्दै गत वर्ष उपमहानगर घोषणा प्रक्रियासमेत अघि बढाएको थियो । १६ वडा रहेको नगरपालिकामा ३१ हजार ८४७ घरधुरी र १ लाख ५४ हजार ८८६ जनसंख्या रहेको छ ।
नगर प्रमुख मोहनमाया ढकालले पछिल्ला वर्षहरूमा नगरको अधिकांश मुख्य तथा भित्री सडक स्तरोन्नति गरिएको जनाइन् । “सडक, खानेपानी, पार्क, पर्यटन र सहरी व्यवस्थापनका क्षेत्रमा एकैपटक काम अगाडि बढाउँदा नगरको स्वरूप परिवर्तन हुँदै गएको छ,” उनले भनिन्, सडक सुरक्षा र सहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै रत्न राजमार्ग अन्तर्गत सुब्बाकुनादेखि बाँगेसिमलसम्मको अधिकांश क्षेत्रमा सडक बत्ती जडान गरेका छौं । मंगलगढी–लाटीकोइली सडक खण्डमा पनि सडक बत्ती विस्तार गरिएको छ ।
नगरपालिकाका अनुसार रात्रिकालीन सुरक्षालाई लक्षित गर्दै नगरका विभिन्न चोकमा २३ वटा हाईमास्ट लाइट जडान सम्पन्न भएको छ । वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरिएको छ भने पैदल यात्रुको सहजताका लागि मंगलगढी चोकमा कर्णाली प्रदेशकै पहिलो आकाशे पुल निर्माण भइरहेको छ । घण्टाघर दक्षिण पार्कलाई पार्किङसहितको व्यवस्थित पार्कका रूपमा विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । घण्टाघर पश्चिम पार्कमा सार्वजनिक सभा तथा खुला कार्यक्रम सञ्चालन गर्न मिल्ने डबली निर्माण सम्पन्न गरिएको छ । बुलबुले ताल को जीर्णोद्धार, ताल विस्तार तथा बोटिङ सेवा सञ्चालनले पर्यटकीय आकर्षण थपिएको छ ।
नगर प्रमुख ढकालले खानेपानी समस्या समाधानलाई नगरको दीर्घकालीन प्राथमिकता बनाइएको बताइन् । दशकौँदेखि रहेको खानेपानी अभाव समाधान गर्न भेरी पम्पिङ आयोजना निर्णायक बन्नेछ, उनले भनिन् । उनका अनुसार बहुप्रतीक्षित भेरी पम्पिङ आयोजनाअन्तर्गत मुहानसम्म पहुँचमार्ग निर्माण, माटो परीक्षण तथा स्थल तयारीको काम सम्पन्न भएको छ । पानी प्रशोधन केन्द्रको तयारी ९० प्रतिशत पूरा भइसकेको छ भने सेडिमेन्टेसन ट्यांकी निर्माण सुरु गरिएको छ । आयोजनाअन्तर्गत ६.८७५ किलोमिटर ट्रान्समिसन लाइनका लागि सिमलेस स्टिल पाइप आपूर्तिको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । अमृतडाँडामा ३ हजार घनमिटर क्षमताको पानी ट्यांकी निर्माण तयारी चरणमा रहेको छ ।
नगरपालिकाले वडा तहसम्म विद्युतीय सुशासन विस्तार, प्रशासनिक प्रणालीको आधुनिकीकरण तथा वैज्ञानिक फोहरमैला व्यवस्थापन प्रणाली सुरु गरेको जनाएको छ । सार्वजनिक जग्गाको संरक्षणमा पहल गर्नुका साथै भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलन गरिसकेको छ ।
त्यसैगरी कांक्रेविहार, बुलबुले, गढी र गुम्बाजस्ता सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासमा पनि काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६१.८६ अंकसहित सुर्खेत जिल्लामै दोस्रो स्थान हासिल गरेको छ । नगर प्रमुखका अनुसार यो उपलब्धिले विकास, सेवा प्रवाह र सुशासनप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
यद्यपि तीव्र सहरीकरण, बढ्दो जनसंख्या, सीमित स्रोत–साधन र सेवा माग अझै चुनौतीका रूपमा रहेको नगर प्रमुखको भनाई छ । “दिगो, व्यवस्थित र समावेशी शहर निर्माणका लागि संघ, प्रदेश, विकास साझेदार र नागरिक सबैको सहकार्य आवश्यक छ,” उनले भनिन् ।
सात पत्रकार पुरस्कृत
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाको विकासमा योगदान पु¥याउने विभिन्न क्षेत्र र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । वीरेन्द्रनगरले सञ्चार क्षेत्रमा योगदान पु¥याएबापत सात पत्रकारलाई पुरस्कार प्रदान गरेको छ ।
पुरस्कृत हुने अन्य पत्रकारहरुमा प्रकाश अधिकारी, मधुवन बिसी, ओम शाही, रमा केसी, यज्ञ खत्री, विवश सेजुवाल, रजनी योगी रहेका छन् । उनीहरुलाई प्रसंशापत्रसहित जनही १० हजार नगद राशी प्रदान गरिएको थियो । नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले पुरस्कार प्रदान गरे । स्थापना दिवसमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सुर्खेत २ का प्रतिनिधिसभा सदस्य रमेश सापकोटा, पूर्व नगर प्रमुख देवकुमार सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,