`सुर्खेत- लघु घरेलु तथा साना उद्यमीहरुको उत्पादन प्रवद्र्धन, बजारीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि शुरु तीन दिने प्रादेशिक औद्योगिक प्रदर्शनी जारी छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा आयोजित प्रदर्शनी वीरेन्द्रनगर–७ स्थित लघु औद्योगिक ग्राममा सञ्चालित छ । प्रर्दशनीमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगीहरुले आफ्ना उत्पादनहरुको स्टल राखेको छन् । शनिबार प्रर्दशनीको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उर्जा तथा जलस्रोतमन्त्री विजया बुढा, प्रमुख सचिव वीरेन्द्रकुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव रवि लामिछाने लगायतले अवलोकन गरेका थिए ।
प्रदर्शनीमा १० वटै जिल्लाबाट ६० भन्दा बढी उद्योगहरू सहभागी छन् । निर्देशनालयका निर्देशक देविलाल सापकोटाले स्थानीय कच्चा पदार्थ परम्परागत प्रविधि, उद्योगबाट उत्पादित वस्तुको प्रर्वद्धन र बजारीकरण भइरहेको बताए । उद्योग प्रर्दशनी, सांस्कृतिक प्रस्तुति र मूल्यांकन पश्चात प्रर्दशनी आइतबार समापन हुनेछ ।
खाद्य प्रशोधन, प्राङ्गारिक मल, ढाका, च्याउ, आरन, हर्बल चिया, मह, छालाजन्य उत्पादन, अल्लो, वैकल्पिक ऊर्जा बहुमूल्य पत्थर आदि उद्योगका उत्पादनहरु प्रर्दशनीमा राखिएका छन् ।
458

कर्णाली समय । २१ असार २०८२, शनिबार २०:०२