जनताको हित नचाहने प्रवृत्ति हावी : अध्यक्ष ओली

दैलेख– नेकपा (एमाले)को ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछाम जिल्ला र कर्णालीको दैलेख जिल्ला प्रवेश गर्ने पुल तरेर टोली कर्णाली प्रवेश गरेको हो ।

मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले बिदाइ र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको हो । अछाम र दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियान टोली कर्णाली प्रदेश प्रवेश गरेको हो ।

कर्णाली पुलमा आयोजित संक्षिप्त कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेपछि एमाले अभियान औपचारिक रुपमा कर्णाली प्रदेश प्रवेश गरेको हो ।पञ्चकन्या सहित पार्टी प्रदेशका नेता कार्यकर्ताको टोलीले एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई कर्णालीमा प्रदेश इन्चार्ज भट्ट, स्थायी कमिटि सदस्य यामलाल कँडेल, गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह नेतृत्वका एमाले कर्णालीका सयौ नेता तथा कार्यकर्ताको टोलीले स्वागत गरेको हो ।

अछामको बेलखेतबाट पैदल पुल क्रस गर्नु भएका एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम र कर्णाली जोड्ने पुलको अवलोकन गरेका थिए । ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबार देखि शुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटव्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागी छन् ।

जनताको हित नचाहने प्रवृत्ति हावी : ओली
दैलेखको राकमकर्णालीमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताए । लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धी नठान्ने तत्वले जनताको हित नचाहने देशद्रोही भएको उनले टिप्पणी गरे ।

‘गठबन्धनको सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाको रुपमा लिएर प्रतिगमनका दिवास्वप्ना देख्नु देशद्रोह बाहेक केही होइन’ अध्यक्ष ओलीले भने, ‘प्रतिगमनको कुरा गर्नु विकास विरोधी, परिवर्तन विरोधी नेपाल र नेपालीको हित विपरित वाहेक केही होइन ।’

बैतडीको झुलाघाटबाट शुरु भएको अभियानको तीन दिनको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको उल्लेख गरे । एमाल सरकारका पालामा समृद्ध नेपाल सुखी नेपालीको दिर्घकालिन अभियान सञ्चालन गर्दा सामरिक महत्वको राकमकर्णालीमा अस्पताल बनाउने कामको शुरुवात आफैले गरेको उनको दाबी थियो । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शाखाको रुपमा विस्तारित अस्पताल निर्माण गर्ने हाम्रो योजना अनुसार यहाँका (राकम कर्णाली)का जनताले निःशुल्क रुपमा ४२ रोपनी जग्गा दान गर्नु भएको छ । धनी भएर भन्दापनि दान गर्ने मन भएर जग्गा उपलब्ध गराउनु भएकामा म यहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ अध्यक्ष ओलीले भने, ‘राकम कर्णालीमा एक सय सैयाको अस्पताल खोल्ने हाम्रो सपना साकार पार्ने काममा यहाँहरुले ठूलो सहयोग गर्नुभयो बिडम्बना अहिलेको सत्ता गठबन्धनले उक्त कामलाई रोक्यो । राकम कर्णालीलाई मेगा सिटीका रुपमा निर्माण गर्ने कार्यक्रम राखेका थियौं काम शुरु गर्न खोज्दै हामी सरकारबाट हट्यौ ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,