ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति प्रदान

जाजरकोट-  भूकम्प प्रभावित जिल्लाका १६ जना छात्राहरुलाई श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानका कक्षा एकदेखि १० सम्म अध्ययनरत छात्राहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा छात्रवृत्ति वितरण गरिएको हो ।


फाउन्डेसनले अघिल्लो शैक्षिकसत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिरहेको छ । फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुलाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने बताइन् । ‘कक्षा १ देखि १० सम्मका १६ जना छात्राहरुलाई अघिल्लो शैक्षिकसत्रदेखि छात्रवृत्ति वितरण गरिरहेका छौं,’ उनले भनिन्, ‘छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौं ।’

फाउन्डेसनले छात्राहरुलाई वर्षभरीलाई पुग्ने स्टेशनरी, स्कुल पोशाक, झोलालगायतका सामाग्रीहरु वितरण गर्दै आइरहेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपलिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई दुई जना छात्राहरुलाई फाउन्डेसनले छात्रवृत्ति दिँदै आएको छ । अध्यक्ष कटुवालले सांगीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट छात्रवृत्ति दिन थालिएको बताइन् । उनले कर्णालीका १० वटै जिल्लाहरुमा छात्रवृत्ति कार्यक्रम पुर्याइने बताइन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिका वडा नं १ का अध्यक्ष दीपक रानाले छोरी सशक्तिकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले जोखिममा परेका बालबालिकाहरुलाई फाउन्डेसनले गरेको सहयोग महत्वपूर्ण भएको बताए । छोरीहरुलाई पढ्नका लागि प्रेरणा प्रदान गर्न यो कार्यक्रम महत्वपूर्ण छ,’ उनले भने, ‘छात्रवृत्ति पाएका छात्राहरुले पढाईमा पनि राम्रो गरेको पाइएको छ ।’

सानीभेरी नगरपालिका वडा नं १ का वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताए । उनले भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीहरुलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनुनै ठूलो कुरा भएको बताए । भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले भूकम्पका कारण पीडित बनेका परिवारका बालिकाहरुलाई छात्रवृत्ति कार्यक्रमले ठूलो सहयोग पुर्याएको बताए । ‘भूकम्पका कारण कापी किताव किन्न नसक्ने अवस्थामा रहेका पीडित बालिकाहरुलाई छात्रवृत्ति दिएर फाउन्डेसनले ठूलो सहयोग पुर्याएको छ,’ उनले भने, ‘यो कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनुहोला ।’

छात्रवृत्तिमा अध्ययन गरिरहेकी जाजरकोटको नलगाड नगरपालिकाकी छात्रा गंगा विकले छात्रवृत्तिका कारण आफूले पढ्ने वातावरण पाएको बताइन् । ‘भूकम्पका कारण शरिरमा लगाउने कपडा पनि थिइन्, यस्तोमा पढ्ने सपना त्याति सकेकी थिएँ’ उनले भनिन्, ‘फाउन्डेसनको सहयोग पनि पढ्नमा कुनै समस्या छैन्, राम्रो अंक ल्याएर उत्तिर्ण भएँ ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,