
सुर्खेत– वर्षौंदेखि धुलो, हिलो, खाल्डाखुल्डी र दुर्घटनाको पर्याय बन्दै आएका कर्णालीका सडक यसपटक संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वयंले स्थलगत रूपमा नियालिरहेका छन् । सरकारी प्रतिवेदनभन्दा फरक, सडकको वास्तविक अवस्था आफ्नै आँखाले हेर्न र स्थानीयको गुनासो प्रत्यक्ष सुन्न मन्त्री लम्साल शनिबार बिहानैदेखि कर्णालीका प्रमुख राजमार्गको अनुगमनमा निस्किएका हुन् ।
हिलाम्मे सडकमा सवारी चढ्दै, ठाउँ–ठाउँमा सडक डिभिजन कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, निर्माण व्यवसायी र नागरिकसँग छलफल गर्दै मन्त्री लम्सालले कर्णाली राजमार्ग र कर्णाली करिडोरको अवस्थाबारे जानकारी लिइरहेका छन् ।
शुक्रबार सुर्खेत पुगेका मन्त्री लम्सालले सोही दिन कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको निरीक्षण सुरु गरेका थिए । मन्त्री लम्सालले सुर्खेतदेखि दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्म सडकको अवस्था अवलोकन गर्ने कार्यक्रम छ । उनको साथमा सुर्खेत २ का सांसद रमेशकुमार सापकोटा र प्यूठानका सांसद सुशान्त वैदिक छन् ।
अनुगमनको दोस्रो दिन शनिबार मन्त्री लम्सालले कालीकोट–नाग्म–गमगढी सडकको निरीक्षण गरे । आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी पुग्ने कार्यतालिका छ । त्यसपछि बाजुराबाट हवाईमार्ग हुँदै हुम्ला पुगेर निर्माणाधीन नेपाल–चीन जोड्ने कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि ४ असारमा राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आगामी तीन वर्षभित्र कर्णालीका जिल्ला र पालिका जोड्ने मुख्य सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए । सडकका खाल्डाखुल्डी टाल्ने काम अब आकस्मिक नभई नियमित तालिकाअनुसार हुने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि आफू स्वयं कर्णालीको स्थलगत निरीक्षणमा आएको बताए ।
तर मन्त्रीको यो भ्रमण केवल विकास योजनाको अनुगमनमा मात्र सीमित छैन । उनले यात्रा गरिरहेका यी सडकहरू पछिल्लो एक दशकदेखि कर्णालीका नागरिकका लागि विकासको आधारभन्दा बढी दुर्घटनाको जोखिम बोकेका मार्ग बनेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८२/८३ को २२ असारसम्म प्रदेशभर ६ हजार ६२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ हजार ३७४ जनाको मृत्यु भएको छ भने ७ हजार ८९३ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकले औसतमा प्रत्येक वर्ष १२० भन्दा बढी नागरिक कर्णालीका सडकमा ज्यान गुमाउने गरेको देखाउँछ ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णालीका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार चालकको लापरबाही, तीव्र गति, कमजोर सडक संरचना र सवारी साधनको प्राविधिक अवस्था कर्णालीमा दुर्घटनाका प्रमुख कारण हुन् । यही पृष्ठभूमिमा भइरहेको मन्त्री लम्सालको स्थलगत अनुगमनले कर्णालीका सडक सुधारका प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने प्रश्नलाई थप चासोको विषय बनाएको छ ।



कर्णाली समय । २ श्रावण २०८३, शनिबार २०:०१