शनिबारदेखि कर्णाली छोरी सम्मेलन सुरु

सुर्खेत-कर्णाली छोरी सम्मेलनको दोेस्रो संस्करण शनिबारदेखि आयोजना हुने भएको छ । श्री ज्योति फाउन्डेशनको आयोजनामा बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित कर्णाली छोरी सम्मेलन–२०८३ को दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

सम्मेलन शनिबार र आइतबार  (१६ र १७ जेठ)  सम्म सुर्खेतको वीरेन्द्रनगरनमा सञ्चालन हुनेछ । सम्मेलनमा कर्णाली प्रदेश का ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागिता रहनेछ । साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी करिब दुई सय ५० भन्दा बढीको उपस्थिति रहनेछ ।

सम्मेलनका संयोजक श्री ज्योति फाउन्डेसनका उपाध्यक्ष सिता भण्डारीका अनुसार सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्नु रहेको छ । दुई दिने सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्रसमेत सञ्चालन हुने कार्यक्रम छ । फाउन्डेसनले यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमार्फत प्रदेशस्तरीय कर्णाली छोरी सञ्जाल गठन गरिएको थियो भने प्रदेशका ७९ वटै स्थानीय तहमा पालिकास्तरीय छोरी सञ्जाल गठन गरी ६ सय ६९ जना छोरीहरूलाई सञ्जालमा आबद्ध गरिएको फाउन्डेसनले जनाएको छ ।

यस्तै, फाउन्डेसनले जाजरकोट भूकम्प प्रभावित तथा विपन्न छोरीहरूको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । फाउन्डेसनले हरेक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,