मदन–आश्रित स्मृति दिवस ः खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

सुर्खेत– मदन आश्रित स्मृति दिवसको अवसरमा वीरेन्द्रनगरमा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल खेलकूद महासंघ कर्णाली प्रदेशद्वारा बुधबार सम्पन्न दौड प्रतियोगिता भैरवस्थान चोकबाट शुरु भई सहिद पार्कमा पुगेर समापन भएको हो ।


२.५ किमी लामो दौड प्रतियोगितामा बिमला कार्की पहिलो, पूर्णिमा बुढा दोस्रो र बिमला विकले तेस्रो स्थान हासिल गर्नुभयो । विजेता खेलाडीलाई एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, प्रदेश कमिटीका उपसचिव टेकराज पछाई र कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले नगद पुरस्कार राशीसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । दौड प्रतियोगिताका प्रथमलाई ५ हजार, दोस्रोलाई दुई हजार ५ सय र तेस्रोलाई एक हजार ५ सय नगद राशी प्रदान गरिएको थियो । खेलकूद महासंघका प्रदेश अध्यक्ष सुरज थापाका अनुसार प्रतियोगितामा १६ वर्ष मूनीका ८० जना महिला सहभागी थिए ।


एमाले प्रदेश अध्यक्ष शाहले विजेता खेलाडीका साथै दौड प्रतियोगितामा सक्रियतापूर्वक भाग लिएका सबै खेलाडीलाई बधाई र धन्यवाद ज्ञापन गर्नुभयो । नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।