‘जेन-जी आन्दोलनले अझै न्याय पाएको छैन’


सुर्खेत- २३–२४ भदौको जेन–जी आन्दोलनले अझै न्याय नपाएको जेन–जी अगुवाहरुले बताएका छन् । जेन—जी पुस्ताको आन्दोलनले सडकदेखि सदनसम्म प्रभाव देखाएको दाबी उनीहरुको छ । उनीहरुले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र न्यायको खोजीको आन्दोलनले अझै पूर्ण न्याय नपाएको गुनासो गरे ।

शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करण अन्तर्गत ‘जेन–जी ः सडकदेखि सदन’ विषयक सत्रमा बोल्दै जेन–जी अगुवा मनिष खनालले सुशासनको मागसहित आफूहरू आन्दोलनमा सहभागी भएको र पछि निर्वाचन जितेर संसदसम्म पुगेको बताए । ‘हामीलाई राजनीति नबुझेको, सामाजिक सञ्जालमा मात्र सक्रिय भन्ने आरोप लाग्थ्यो, तर अहिले त्यो धारणा कमजोर भएको छ,’ उनले भने । उनले नयाँ पुस्ताले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान भूमिका खेलेको दाबी गरे । आन्दोलनबाट आएको पुस्ता भएकाले सडकका मुद्दा बिर्सिन नसक्ने उनको भनाइ छ ।

त्यस्तै, रक्षा बमले जेन–जी पुस्तामाथि लाग्ने भ्रष्टाचार र बेथितिमा लाग्ने आरोप उमेरसँग नभई सोच र सामाजिक संरचनासँग सम्बन्धित रहेको बताइन । उनले कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक हुनुपर्ने माग गरिन । ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ, तर कसरी हिंसात्मक बन्यो भन्ने सत्य बाहिर आउनुपर्छ,’ उनले भनिन । उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाही सिफारिस भए पनि घटनाको सम्पूर्ण सत्य अझै बाहिर नआएको बताइन ।

यस्तै, वक्ता धीरज जोशीले सडक र सरकारको भूमिकाबीच सन्तुलन आवश्यक रहेको धारणा राखे । ‘सरकारले केवल आन्दोलन होइन, समग्र देश, राष्ट्रिय सुरक्षा र सेवा प्रवाहलाई ध्यानमा राखेर काम गर्नुपर्छ,’ उनले भने । उनका अनुसार वर्तमान सरकारको प्रमुख प्राथमिकता शान्ति स्थापना र सुशासन हो । उनले हालसम्मकै शान्तिपूर्ण निर्वाचन भएको दाबी पनि गरे ।

यस्तै, जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोराले जेन–जी आन्दोलनले अपेक्षित न्याय नपाएको गुनासो गरे । ‘हाम्रो आन्दोलन भ्रष्टाचार, नातावाद र बेथितिविरुद्ध थियो, तर अहिलेसम्म न्याय पाएको अवस्था छैन,’ उनले भने । आन्दोलनका क्रममा भएका दमन र गोलीकाण्डमा संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै उनले पीडितहरूको आवाज अझै नसुनिएको बताए । उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री रिहा हुँदा दुःख लागेको उल्लेख गर्दै न्यायालयको निर्णयप्रति प्रश्न उठाए । ‘जनताको पीडा र माग न्यायालयले सुन्नुपर्छ,” उनले भने ।

लामो समयदेखि पुराना राजनीतिक दलहरूले नेतृत्व गरे पनि देशले अपेक्षित गति लिन नसकेको भन्दै जेनजी पुस्ताले नयाँ राजनीतिक विकल्पमार्फत परिवर्तनको आशा व्यक्त गरेका छन् । उनीहरूका अनुसार जबसम्म आम नागरिकले सुशासन र परिवर्तनको अनुभूति गर्दैनन्, तबसम्म आन्दोलनका मुद्दाले पूर्णता नपाउने उनीहरुको धारणा थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,