राष्ट्रिय पुरुष भलिबल : एपिएफलाई पराजित गर्दै पुलिस क्लब बन्यो च्याम्पियन

सुर्खेत– साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको  विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । वर्ष २०८० मा पुलिसले सातौं फाइनल खेल्दा पहिलो उपाधि जित्न सफल भएको हो । सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो ।

दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए । रविन चन्द नायक बन्दा पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । १५–१५ को बराबरीको अवस्थाबाट पुलिसले खेललाई १८–१५ को स्थितिमा ल्याए । त्यसपछि एपिएफले थप ३ अंक बटुल्दा पुलिसले ७ अंक बटुल्दै जित निकाल्न सफल भयो । चौथो सेटमा पनि पुलिसले सुरुवातमा ८–४ को अग्रता लिएपनि एपिएफले पूनरागमन गर्दै ११–१० को अग्रता लिन सफल भएको थियो । तर, पुलिसले एपिएफको अग्रतालाई पछि पारेर २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमीफाइनल खेलेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,