सहकारी संस्थाहरुले कृषि उत्पादन र उद्यममा जोड दिनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत–मुख्यमन्त्री यामलाल कँडेलले जनताको जीवनस्तर उकास्न सहकारी संस्थाहरुले कृषि उत्पादन र उद्यममा जोड दिनुपर्ने बताएका छन् ।


लेकबेशी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१ औं साधारणसभालाई सम्बोधन गर्दै उनले गुजारामुखी कृषि पद्धतिलाई छाडेर एक गाउँ एक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । ‘सहकारी संस्थाहरुले व्यवसायिक कृषि र उद्यममा आफ्ना सदस्यहरुलाई लगाउँदै जाने हो भने अपेक्षित समयमा नै समाज रुपान्तरण गर्न सम्भव छ,’ उनले भने, ‘उत्पादनमा वृद्धि र बजारीकरणको व्यवस्थापन गर्न सकेमा जनताको जीवनस्तर बदल्न ठूलो टेवा पुग्छ, सहकारी संस्थाहरु यस प्रकारको अभियानको नेतृत्व गर्न सक्षम छन् ।’

मुख्यमन्त्री कँडेलले विदेशबाट सीप सिकेर वा दुःख पाएर फर्किएकाहरु बेरोजगार भई बस्न नहुने धारणा राखे । उनले भने, ‘गाउँ–गाउँमा सडक र स–साना बजारको विकास भइसकेको छ, गाउँघरमै कुनै न कुनै उद्यम गरेमा राम्रो मुनाफा आर्जन गर्न सकिने सम्भावना पनि छ ।’ युवालाई गाउँमै बस्ने सकारात्मक वातावरण निर्माण गर्न तीन वटै तहका सरकारहरुले आआफ्नो तर्फबाट प्रयास गर्नुपर्ने उनको भनाई थियो ।

साथै उनले मदन भण्डारी राजमार्ग, गंगटे आरुनटाँडा हुँदै जाजरकोट जाने सडक यस क्षेत्रको लाइफलाइन हुन सक्ने भन्दै बस्ती विकास र बजारीकरणको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । सहकारी संस्थाले कृषि, पशुपालन तथा साना घरेलु सेवा व्यवसायमा आधारित रहि कमजोर आर्थिक अवस्थाका किसानहरु लक्षित कार्यक्रम कपडा उद्योग, साबुन उद्योग, बीउ–बेर्न उत्पादन, अर्गानिक र गड्यौला मल उत्पादन, अर्गानिक तरकारी उत्पादन, च्याउ खेती, दूध उत्पादनमा लगानी र सीपमुलक तालिम लगायतका व्यवसायका लागि ९ प्रतिशत ब्याजदरमा लगानी गर्दै आएको जनाएको छ । त्यस्तै, वार्षिक २९ करोड २५ लाख ६७ हजार ३३१ रुपैयाँ कारोबार गर्दै आएको छ । सहकारीमा १ हजार ९१४ सदस्य छन् । तीमध्ये महिला १ हजार २५६ र पुरुष ६५८ जना छन् ।

सहकारी संस्थाका अध्यक्ष यामप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न साधारणसभामा लेकबेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, उपप्रमुख बिमला खड्लुक लगायतको सहभागिता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,