सुर्खेत- कालीकोटमा आइतबार दिउँसो कालीकोटको पलाँतामा ओभरलोडका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
दुर्घटनास्थल पुगेका कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले जिपले क्षमताभन्दा यात्रु चढाएका कारण दुर्घटना निम्तिएको बताए । उनका अनुसार ५ सिट क्षमताको बोलेरोमा २० यात्रु सवार थिए । डिएसपी रावतले तत्काल घाइतेको उद्धार र शव व्यवस्थापनमै केन्द्रित भएको बताए । “अब दुर्घटनाको कारण पत्ता लगाइनेछ, प्रारम्भिक रुपमा हेर्दा ओभरलोड देखिन्छ, विस्तृत अनुसन्धानपछि अन्य कारणहरु पनि खुल्न सक्छ,” उनले भने ।
आइतबार दिउँसो साढे २ बजेतिर कालीकोटको उत्तरपश्चिमा पर्ने पलाँता गाउँपालिका–४ राडुनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो । छ जनाको दुर्घटनास्थलमै र एक जनाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र जिप चालक धनिराम रावत रहेका छन् । चालक रावतको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । उनको ठेगाना खुलेको छैन् ।
दुर्घटनामा परी घाइते भएका केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, दोली विक, आयुशा विक, दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
कर्णाली समय । २५ कार्तिक २०८१, आईतवार २०:३९