बसन्ती शाही लिखित ‘यादका थुँगाहरू’ र ‘आमा र आँसु’ लोकार्पण

सुर्खेत— साहित्यकार बसन्तीकुमारी शाहीका दुई नयाँ कृति ‘यादका थुँगाहरू’ र ‘आमा र आँसु’ लोकार्पण गरिएको छ । फ्युचर नेपालद्धारा शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख उपस्थितिमा दुवै कृतिको लोकार्पण गरिएको हो ।

‘यादका थुँगाहरू’ कविता र ‘आमा र आँसु’ कथा संग्रह हुन् । हुम्ला घर भएकी शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्षसमेत हुन् । प्रशासनिक जिम्मेवारीसँगै साहित्य सिर्जनामा निरन्तर सक्रिय शाहीले यसअघि पनि कविता तथा अन्य साहित्यिक कृतिहरू प्रकाशित गरिसकेकी छन् । ‘यादका थुँगाहरू’ कविता सङ्ग्रहमा १४२ वटा कविता समावेश छन् भने ‘आमा र आँसु’ कथा सङ्ग्रहमा १४ वटा कथा संग्रहित छन् । यी दुवै कृतिले कर्णालीको सामाजिक यथार्थ, महिलाले भोग्दै आएका पीडा, विभेद, कुरीति, कुसंस्कार, विकृति–विसङ्गति तथा विकासप्रतिको आकांक्षालाई साहित्यिक भाषामा प्रस्तुत गरेका छन् ।

पुस्तक लोकार्पण कार्यक्रममा लेखक शाहीले कर्णालीका जनजीवन, संघर्ष, मानवीय संवेदना र परिवर्तनको चाहनालाई आफ्ना रचनाको केन्द्रमा राखेको बताइन् । साहित्यकार शाहीले हुम्ली महिलाले भोगेको दुःख आफूले पनि नजिकबाट अनुभूत गरेको उल्लेख गर्दै उनले त्यही अनुभवलाई साहित्यमा रूपान्तरण गर्ने प्रयास गरेको सुनाइन् । प्रदेश प्रमुख जोशीले शाहीका कृतिहरूले कर्णालीको वास्तविक जीवनलाई साहित्यमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताउँदै भने, ‘यी कृतिले कर्णालीका मात्र होइन, सुदूरपश्चिमका महिलाहरूले भोगेका साझा पीडा, संघर्ष र सामाजिक अवस्थाको प्रतिनिधित्व गरेका छन् ।’

कृतिमाथि साहित्यकारद्धय डा. नवराज केसी र महेशविक्रम शाह र पत्रकार ज्योति कटुवालले समिक्षात्मक टिप्पणी गरे । डा केसीले शाहीको भाषा सरल, सहज र जीवनसँग प्रत्यक्ष जोडिएको रहेको उल्लेख गर्दै उनका रचनामा कृत्रिमता नभई भोगाइबाट जन्मिएको यथार्थ चित्रण भएको बताए । अर्का समिक्षक शाहले पछिल्ला दुई कृतिसँगै लेखकको साहित्यिक यात्राले अझ परिपक्वता हासिल गरेको टिप्पणी गरे । कृतिमाथि समिक्षा गर्दै पत्रकार ज्योति कटुवालले ‘आमा र आँसु’ का कथाहरूले ग्रामीण समाजका महिलाको मौन संघर्ष, पारिवारिक सम्बन्ध, सामाजिक अन्याय र मानवीय संवेदनालाई गहिराइका साथ चित्रण गरेको बताइन् ।

कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा महिला साहित्यकारको उपस्थिति अझै सीमित रहेको उल्लेख गर्दै बसन्तीकुमारी शाहीका कृतिले त्यस अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास व्यक्त गरे । कर्णालीको आफ्नै अनुभव र मौलिकताको साहित्यिक अभिव्यक्तिले समग्र साहित्यिक उन्नयनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । कृति लोकार्पण कार्यक्रम फ्युचर नेपालका यज्ञ खत्रीको अध्यक्षता र दीपक उपाध्यायले सञ्चालन गरेका थिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,