सुर्खेत- यस वर्षको यमपञ्चक अर्थात नेपालीको दोस्रो ठूलो चाड तिहार आज (कात्तिक १३ गते मंगलबार) देखि सुरु भएको छ।
मंगलबार धनत्रयोदशी धनतेरस पर्व मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते आइतबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत शुभ रहेको जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्नेछ । त्यसैदिन नेवार समुदायले किजापूजा पनि मनाउँछन् । यमदीपदान कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।


कर्णाली समय । १३ कार्तिक २०८१, मंगलवार ११:३२