सुर्खेत– संसदीय व्यवस्थाबारे जानकारी दिने उद्देश्यले कर्णाली प्रदेशमा नमूना युवा प्रदेशसभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा नमूना संसद् अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
नमूना युवा प्रदेशसभा अभ्यास कार्यक्रममा कर्णालीका युवाहरूले मुख्यमन्त्री , मन्त्री, सभामुख र प्रतिपक्ष दलको नेता सांसदको भूमिका निभाएका थिए । संसद बैठकजस्तै देखिने दृश्यमा सभामुखले युवा सांसदहरुलाई विशेष समय दिएर पालै पालो बोल्न दिएका थिए । सासंदहरुले देशको समसामयिक राजनीतिक घटनाक्रम, विकास निर्माण, युवाहरूका अधिकारका क्षेत्रमा आफ्ना धारणा र प्रश्नहरु राखेका थिए । त्यसपछि मुख्यमन्त्री र मन्त्रीहरुले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिए । सांसदहरुले मर्यादित भएर सदनमार्फत सरकारको ध्यानाकर्षण मात्रै गराएन नै उनीहरुले सरकारको आलोचना समेत गर्न भ्याए ।
सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो । नमूना युवा प्रदेशसभा अभ्यास कार्यक्रममा प्रशिक्षक प्रकाश उपाध्याय र युवराज खड्काले सदनमा मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने लगायतका विषय सिकाए । कर्णाली प्रदेशका १० जिल्लामा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको नमुना युवा गाउँ÷नगर सभामा सहभागी २० जना र राष्ट्रिय युवा परिषद्को समन्वयमा छनोट भएका २० जना गरि कर्णाली प्रदेशका १० जिल्लाबाट ४० जनाको सहभागिता रहेको थियो ।
चार दिने नमूना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको समापनमा बोल्दै समापन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले नमूना युवा प्रदेशसभा अभ्यासले युवाहरूमा संसदिय अभ्यास सम्बन्धी ज्ञान प्राप्त गर्न मद्दत पुगेको विश्वास व्यक्त गरे । आगामी दिनमा समेत प्रदेश सरकारले युवाहरुको क्षमता अभिवृद्धि हुने गरी काम गर्ने उनले प्रतिवद्धता जनाए । “प्रदेशको स्रोतसाधनलाई समुचित प्रयोगमार्फत् युवाहरूको नेतृत्व विकाससंगै प्रदेशमै रोजगारीको बाटो सिजर्ना गर्दै विदेसिन बाध्य युवालाई स्वदेशमा स्थापित हुने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहनेछ,” मन्त्री पोखरेलले भने । कार्यक्रममा सामाजिक मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्ले, युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमाल लगायतको उपस्थिति थियो ।

कर्णाली समय । २८ जेष्ठ २०८०, आईतवार १८:५८