
सुर्खेत — कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीको प्रारम्भिक छनोट प्रक्रिया सम्पन्न भएको छ । सुर्खेतसहित प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएका छनोट प्रतियोगिताबाट १४ खेल विधाका खेलाडी छनोट भएका हुन् ।
छनोट भएका खेलाडीलाई तिहारपछि बन्द प्रशिक्षणमा राखिने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । घरेलु मैदानमा आयोजना हुने राष्ट्रिय खेलकुदमा कर्णालीको प्रदर्शन सुधार गर्दै पदक जित्ने लक्ष्यसहित खेलाडीलाई थप प्रशिक्षण दिन लागिएको हो । बन्द प्रशिक्षणमार्फत खेलाडीको क्षमता अभिवृद्धि गर्ने, कमजोरी सुधार्ने र प्रतियोगिताका लागि आवश्यक तयारी पूरा गर्ने परिषद्को योजना छ ।
छनोट प्रतियोगिताअन्तर्गत आइतबार प्रदेश रंगशालामा सम्पन्न पुरुष फुटबलको फाइनलमा सुर्खेतलाई पराजित गर्दै हुम्ला विजेता बनेको छ । प्रतिस्पर्धात्मक खेलमा हुम्लाका कप्तान करन राउतले गरेको एक गोल नै निर्णायक बनेपछि सुर्खेत उपविजेतामा सीमित भएको हो । कर्णाली प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टक्कबहादुर शाहीका अनुसार प्रदेशस्तरीय खेलमा हुम्लाले पहिलोपटक उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको हो । जिल्लास्तरबाट छनोट हुँदै आएका खेलाडीले प्रदेशस्तरमा देखाएको प्रदर्शनले कर्णालीको खेलकुदमा जिल्लागत प्रतिस्पर्धा र नयाँ सम्भावना उजागर गरेको उनको भनाई छ ।

महिला फुटबलले पनि छनौट चरण पार गरेको छ । सुर्खेतको चिसापानी खेलमैदानमा सम्पन्न खेलमा सुर्खेतले जुम्लालाई ४–० गोलले पराजित गर्दै विजेता बनेको हो । छनोट चरणमा खेलाडीले देखाएको प्रदर्शनका आधारमा राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्ने टोली तयार गरिनेछ ।
यसैबीच, ब्याडमिन्टन, बक्सिङ, उसु लगायतका १४ खेल विधामा खेलाडी छनोटको काम पूरा भएको परिषद्ले जनाएको छ । ब्याडमिन्टनमा भने कर्णाली प्रदेशबाट छनोट भएका सबै खेलाडी सुर्खेतबाटै छानिएका छन् । असोज २६ देखि २८ गतेसम्म सञ्चालन भएको ब्याडमिन्टन छनोट प्रतियोगिताबाट महिला पाँच र पुरुष सात गरी १२ खेलाडी छनोट भएका हुन् । छनोट भएका खेलाडीमध्ये चार जना नयाँ खेलाडी रहेको छन् । उनीहरूले पहिलोपटक राष्ट्रिय खेलकुदमा प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
पदक तालिकामा सुधार ल्याउने गरी काम गरौं : मन्त्री मल्ल
आइतबार आयोजित समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदमा प्रदेशका खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताए । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणबाट थप निखारेर प्रतिस्पर्धाका लागि तयार पारिने विश्वास व्यक्त गर्दै उनले खेलाडी र खेल व्यवस्थापकलाई कर्णालीको पदक तालिकामा सुधार ल्याउने गरी काम गर्न आग्रह गरे । ‘अब अंक तालिकामा कर्णाली पुछारमा नहुने गरी खेलाडीको क्षमता विकास गर्नुपर्छ’ भन्ने आशयसहित मन्त्री मल्लले खेलाडी तथा व्यवस्थापकलाई तयारीमा केन्द्रित हुन आग्रह गरेका थिए ।
त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुदको कुशल व्यवस्थापनसँगै घरेलु मैदानमा प्राप्त हुने दर्शकको उत्साहले खेलाडीलाई राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने बताए । प्रतियोगितामा पदक जित्न खेलाडीको तयारी, नियमित प्रशिक्षण र व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने उनको भनाई छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न छनोट प्रतियोगिताको समापन समारोहमा परिषद्का बोर्ड सदस्य, खेल प्रशिक्षक तथा विभिन्न खेल विधाका खेलाडी सहभागी थिए । समारोहमा प्रतियोगितामा संलग्न खेलाडी, रेफ्री, प्रशिक्षक र व्यवस्थापकलाई प्रमाणपत्र प्रदान गरिएको थियो । दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमै आयोजना हुने भएकाले प्रदेशका खेलाडीका लागि यो प्रतियोगिता घरेलु मैदानमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसरका रूपमा रहेको छ ।




कर्णाली समय । २ कार्तिक २०८३, आईतवार २०:११