
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनितिक दललाई पाखा राख्ने सोच त्याग्न सुझाव दिएका छन् । निर्वाचनको विषयमा अझै संशयमा भन्दै दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने धारणा राखेका छन् । आजदेखि वीरेन्द्रनगरमा शुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार नभएको समेत दाबी गरे ।
मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको भन्दै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहित वातावरण वन्न नसकेकोमा जोड दिए ।उनले सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानवाट मुक्त हुनुपर्ने धारणा राखे । मु्ख्यमन्त्री कँडेलले निर्वाचनका सन्र्दभमा दलहरुबीचनै सहमति नभएकोले अन्यौल रहेकोले सरकारले दलीय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले निर्वाचनको बुथमा रहने ४ जना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ भन्दै सबै दलले भाग लिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुने बताए । प्रमुख दलका शिर्ष नेतालाई स्थान हद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउँदै यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्ने उनको भनाई थियो । मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख दलका शिर्ष नेताहरुसंग गरेको सम्वादलाई सकारात्मक रुपमा लिनुपर्ने र यस्तो संवाद र छलफलले मात्र मुलुकलाई निर्वाचनमा लैजान सकिने वताए ।
जेन्जीका नाममा समाजमा कतिपय आतंक सृजना गरिएको बताउर्दै मुख्यमन्त्री कँडेलले कानून उल्लघंन गर्ने जोकोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने धारणा राखे । उनले भने, ‘भदौ २३ गते युवाहरुले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति छैन तर २४ गते भएको विध्वश र आगजनी गर्ने माथि कारवाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन ।’ मुख्यमन्त्री कडेलले आगजनी र लुटपाटमा संलग्नमाथी सरकारले नै कारवाही नगर्न सुरक्षा निकायमाथी गरेको दवावप्रति असन्तुष्टी जनाए ।
सरकारको मुख्य कार्यभार स्वच्छ र मर्यादित निर्वाचन : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य कार्यभार स्वच्छ र मर्यादित निर्वाचत भएको बताए । उनले निर्धारित मिति फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने गरी सरकार लागेको बताए । संसद विघटन भएको ६ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतिलाई सुदृढ गर्दै फागुन २१ गते चुनाव सम्पन्न गर्ने उनको भनाई थियो ।
साथै उनले जेनजीका जनआन्दोलनका सहिद पहिचान गरी उनीहरुको नामावली राजपत्रमा प्रकाशन गरेको र परिवारलाई राहत प्रदानमा जोड दिएको जनाए । ‘समृद्धि, विकास र सुशासन कायमका लागि जेनजी पुस्तालाई राजनीति मूलधारमा ल्याउनुपर्छ’ उनले भने, ‘जेनजी पुस्ता दल विशेषको नभई सबैका साझा जनशक्ति भएकोले उनीहरुको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकासमै उपयोग गर्नुपर्दछ ।’


कर्णाली समय । ९ पुष २०८२, बुधबार १९:४३