प्रहरी कर्मचारीहरुको सर्मपणभाव सबैका लागि प्रेरणाको श्रोत : मुख्यमन्त्री कँडेल

सुर्खेत- मुख्यमन्त्री यामलाल कँडेलले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण लगायत मुलुकमा देखापरेका विषम परिस्थितिलाई निस्तेज तुल्याउन प्रहरी कर्मचारीहरुले निर्वाह गरेको भूमिकाको प्रंसशा गरेका छन् ।


६९ औं प्रहरी दिवसका अवसरमा बुधबार प्रदेश प्रहरी कार्यालयमा आयोजित सभारोहलाई सम्बोधन गर्दै उनले आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी उच्च मनोबलका साथ देश र जनताको सुरक्षामा तैनाथ हुनु सबैको लागि प्रेरणाको श्रोतका रुपमा रहेको बताएका हुन् । ‘अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती हाम्रो पुँजी हो,’ उनले भने, ‘सीमित श्रोत साधनका बावजुद यो पूँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा प्रहरीले देखाएको कार्यकुशलता प्रंसशनीय छ ।’

मुख्यमन्त्री कँडेलले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण अपराधका नयाँ शैलीविरूद्ध प्रहरी तयारी अवस्थामा रहनुपर्ने चुनौती थपिएको बताए । ‘बदलिँदो आपराधिक परिवेश, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश एवं अनुशासनहीनतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्नो सेवा प्रवाहमा सोही अनुरूप विकास र परिवर्तन गर्दै गएको मैले महशुस गरेको छु, उनले भने, ‘अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्न अझ सक्षम बन्न जरुरी छ ।’

साथै उनले राष्ट्र र जनताको हितमा केन्द्रित भई कुनै पनि आपराधिक कर्मप्रति कुनै आग्रह पूर्वाग्रह र मोलाहिजा नगरी शून्य सहनशीलताको नीति अनुरूप कानूनको दायरामा ल्याउने गरि कार्यसम्पादन गर्ने तर्फ अग्रसर हुन प्रहरी कर्मचारीलाई सुझाव दिए । मुख्यमन्त्री कँडेलले प्रहरी प्रदेश सरकार मातहत आइनसके पनि प्रहरी युनिटहरुले शान्ति सुरक्षा, विपद् न्यूनीकरण लगायतका विषयमा प्रदेश सरकारसँग समन्वयात्मक ढंगले काम गरिरहेकोमा धन्यवाद व्यक्त गरे ।

प्रहरी दिवसमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले अपराध नियन्त्रण र कानूनले निर्दिष्ट गरेको जिम्मेवारी कार्यान्वयनमा प्रहरीको भूमिका अब्बल रहेको धारणा राखे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रहरी आम नागरिकको आशा र भरोसाको संगठन भएकाले नागरिक प्रहरी साझेदारी अझ बलियो बन्नुपर्ने विचार व्यक्त गरिन् । प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले सीमित स्रोत साधनका बाबजुद प्रहरी कर्मचारीले शान्ति सुरक्षा, अमनचयन कायम गर्न र अपराध नियन्त्रणमा अझैं ख्याति कमाउने विश्वास प्रकट गरे ।

प्रहरी दिवसका अवसरमा प्रदेश सरकारका सचिव आनन्द सारु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शिवहरि आचार्य, नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदिप पुरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।