
सुर्खेत — नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले दैलेख जिल्ला संयोजकमा मीनबहादुर (मिलन) विश्वकर्मालाई मनोनयन गरेको छ। समूहका नेता प्रा.डा. शशांक कोइरालाले विश्वकर्मालाई जिल्ला संयोजकमा मनोनयन गरेका हुन्। नेपाल तरुण दल दैलेखका अध्यक्षसमेत रहेका मिलनले प्रखर र वैचारिक युवा नेताको पहिचान बनाएका छन् ।
कोइरालाले २०८३ भदौ १८ गते जारी गरेको मनोनयन पत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि जिल्ला संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ। जिल्लाका नेता–कार्यकर्ताको रायसुझाव र केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा विश्वकर्मालाई संयोजक मनोनयन गरिएको पत्रमा जनाइएको छ।
पत्रअनुसार नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले काठमाडौंमा मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यसअघि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
कोइरालाले विश्वकर्माले जिल्ला संयोजकका रूपमा नेपाली कांग्रेसका स्थापित मूल्यमान्यता आत्मसात गर्दै दैलेखमा पार्टी संगठनलाई मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेका छन्। मनोनयन पत्रमा कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको र सोही अवस्थामा ‘विशेष महाधिवेशन’ पक्षले महाधिवेशनका गतिविधि अघि बढाएको उल्लेख गरेका छन्। चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको उनको दाबी छ।



कर्णाली समय । ८ आश्विन २०८३, बिहीबार ११:५१