प्रकाश अधिकारी/ सुर्खेत– मुलुकमा नयाँ बनिरहेका संरचनाहरुमध्ये सकारात्मक सन्देश दिने एउटा भव्य र अद्धितीय आर्किटेक्चरको नमूना हो, वीरेन्द्रनगरस्थित कर्णाली रंगशाला । आधुनिक वास्तुकला र नविनतम डिजाइनका कारण पछिल्लो समय सामाजिक सञ्जालमा पनि यसका फोटो/भिडियोहरु व्यापक छाइरहेका छन् ।
“रंगशालाको डिजाइन, सन्देश र सौन्दर्यका पाटोबाट हेर्दा जति भव्य छ, यसको निर्माणले नेपाली खेलकुद क्षेत्रलाई त्यति नै नयाँ उचाईमा पु¥याउँनेछ,” कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र सञ्ज्याल भन्छन्, “यसले कर्णालीको प्रतिष्ठा बढाउने काम गरेको छ, प्रदेशले आफ्नै सार्मथ्यमा विकास र समृद्धिको अभियान अघि बढाउन सक्छ भन्ने सन्देश प्रवाह भएको छ ।”
रंगशालाको समग्र दृश्य, यसको आर्किटेक्चर, रंगीन संरचनाहरूको दृश्यलाई देखेर मानिसहरुले यसलाई रमणीय स्थलका रूपमा चित्रित गर्ने गरेका छन् । प्रदेश गौरवका आयोजनाका रुपमा अघि बढाइएको रंगशालाको २०७८ मंसिर २० गते तत्कालिन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए । ९ बिघा क्षेत्रफलमा रहेको रंगशाला एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार लागतमा निर्माण भएको हो ।
रंगशाला निर्माणको जिम्मेवारी भारतीय र नेपाली ठेकेदारसहितको एमएसी/जिएसएल जेभी कम्पनीले पाएको थियो । १० हजार दर्शक अट्ने क्षमताको रंगशालाभित्र फिफा मापदण्ड अनुसारको फुटबल मैदान बनाइएको छ । जसको लम्बाई १०५ मिटर तथा चौडाई ६८ मिटर छ । मैदानमा नयाँ प्रविधिबाट पानी छर्किने स्प्रिनकल छन् । ३० मिनेटभित्र मैदान सिचाइँ हुने ७ वटा प्वाइन्ट जडान गरिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्का अनुसार रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिने गरी पूर्वाधार बनाइएको छ । यहाँ दुई कर्भड हल, एथ्लेटिक्स, दुई आउटडोर, भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, कबड्डी, क्रिकेट मैदान, स्वीमिङ पुल, सटरसहितको कम्पाउन्ड र अन्डरग्राउन्ड पार्किङ स्थल छन् । त्यस्तै, १० हजार दर्शक अट्ने भूकम्प प्रतिरोधी प्याराफिट, दुई तले भिआइपी प्याराफिट निर्माण गरिएको छ । खेलाडीको चेन्जिङ रुम, शौचालय, मिडिया ग्यालरी, क्यान्टिन, रेफ्री रुम, मेडिकल रुम, फिजियोथेरापी रुम, भिआईपी वेटिङ रुम छन् । व्यापारिक तथा सुरक्षा प्रयोजनका लागि ४० सटर, कम्पाउन्ड वाल निर्माण गरिएको छ । कलात्मक शैलीका कम्पाउन्ड वाल र मूल ढोकामाथि पञ्चदेवलका आकृति निकालिएको छ ।
खेलप्रेमीहरुका भनाईमा यो रंगशालाले कर्णालीको नभई समग्र नेपाली खेल जगतकै गौरव बढाएको छ । “यसले खेलकुद क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याएको छ, काठमाडौं बाहिर पनि अन्तर्राष्ट्रियस्तरका ठूल्ठूला प्रतियोगिता आयोजना गर्न सकिने पूर्वाधार छन् भन्ने सन्देश दिएको छ,” सुर्खेत निवासी राखेप बोर्ड सदस्य नन्दा बस्याल भन्छिन्, “पूर्वाधार निर्माणसंगै नियमित खेल गतिविधि सञ्चालन हुन जरुरी छ, रंगशालालाई बहुआयामिक उपयोगमा ल्याएर प्रदेशले आम्दानीको स्रोतका रुपमा अघि बढाउनुपर्छ ।”
वीरेन्द्रनगर उपत्यकाको मध्यभागमा अवस्थित छ, कर्णाली रंगशाला । यो स्थान वीरेन्द्रनगर ८ मा पर्दछ । यही रंगशालामा आगामी चैत २३ देखि ३० गतेसम्म नेपाली खेलकुदको महाकुम्भ आयोजना गर्ने सरकारको तयारी छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले उक्त मिति प्रस्ताव गर्दै दशौं खेलकुद प्रतियोगिताका लागि तयारी गर्न सचिवालयसमेत स्थापना गरिसकेको छ । यद्यपि २०७९ जेठमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनका बेला राखेपले दशौंका लागि २०८१ मंसिर २ देखि ९ को मिति प्रस्ताव गरेको थियो । रंगशालाको भौतिक प्रगतिमा ढिलाइ, राखेप बोर्डमा राजनीतिक नेतृत्व र पदाधिकारीबीचको बेमेलका कारण प्रतियोगिता मंसिरबाट धेकेलिएको हो । राखेपमा सचिवालय स्थापना गरेलगत्तै सुर्खेत आइपुगेका परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आगामी चैतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि कारणले नरोकिने दाबी गर्छन् । “रंगशाला लगायतका आवश्यक भौतिक पूर्वाधार सम्पन्न भइसकेका छन्, सुर्खेतमा आवास व्यवस्थापनमा अलिकति चुनौती देखिन सक्छ, उनी भन्छन्, “यसका लागि उद्घाटन र समापनलाई मध्यनजर गरी प्रतियोगिता सञ्चालन गर्न सकिने आधारहरु छन् ।” राखेपको आगामी माघ ३ गते बस्ने बोर्ड बैठकबाट राष्ट्रिय खेलकुदबारे थप निर्णयहरु हुने उनको भनाई छ ।
कर्णाली खेलकुद विकास परिषद्का अध्यक्ष एवं प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी संघीय सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सम्बन्धमा कार्यविधि पारित गरी प्रदेशलाई व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने बताउँछन् । “राखेपले गर्नुपर्ने के–के हो ? प्रदेश सरकारले गर्नुपर्ने कामहरु के–के हुन छिटो टुंगो नलगाउँदा तयारीमा समस्या पर्छ, उनी भन्छन्, “प्रतियोगिताको आयोजक संघीय सरकार भएकाले बजेट र व्यवस्थापनको विषयमा संघ–प्रदेशको भूमिका प्रष्ट हुनुपर्छ ।”
कर्णाली खेलकुद विकास परिषद्ले राखेपसमक्ष दशौं राष्ट्रिय खेलकुदका लागि २४ वटा खेल खेलाउन सकिने आधार पेश गरेको छ । प्रदेश रंगशालामा ब्याडमिन्टन, तेक्वान्दो, उसु, भलिबल, क्रिक्रेट, फुटबल, बास्केटबल, ह्यान्डबल, खोखो, पौडी, एथ्लेटिक्स खेलाउने तयारी छ भने कुस्ती, जुडो, शारिरीक सुगठन, भारोत्तोलन, कबड्डी, कराँते, टेबलटेनिस, बुद्धिचाल, रग्बी, बक्सिङ रंगशालाबाहिर खेलाइनेछ ।
प्रदेश खेलकुद परिषद् पदाधिकारीविहिन
दशौंका लागि मिति नजिकिँदै गर्दा कर्णालीमा भने प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारीको कार्यकाल सकिएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहित सदस्यहरुको पदावधि गत पुस ६ मा सकिएको हो । प्रदेश सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाएको छैन् । परिषद्का अध्यक्ष समेत रहेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तत्काल प्रक्रिया अघि बढाउने बताउँछन् ।
सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच परिषद्का पदाधिकारीको नियुक्ति प्रक्रियामा कुरा नमिलेको बताइएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले रंगशालाको रंगरोगन, फिनिसिङ र सरसफाइको काम भइरहेको र दशौंका तयारीमा जुट्नुपर्ने बेला नयाँ नियुक्तिको साटो पुरानै पदाधिकारीलाई जिम्मेवारी दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
२०७७ पुस ६ गते नियुक्त भएका परिषद्का उपाध्यक्ष हमाल एमाले र सदस्य सचिव सञ्ज्याल माओवादी कोटा निकट हुन् । तत्कालिन नेकपाकालमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले परिषद् गठन गर्दा सदस्यहरु पनि एमाले–माओवादी निकटलाई नै नियुक्त गरिएको थियो । तर कांग्रेसले परिषद्मा आफू निकट सदस्य नभएपनि दशौं खेलकुदको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा अनुभवी नेतृत्वलाई केही समय सम्मका लागि निरन्तरता दिन सकिने तर्क अघि सारेको छ । प्रदेश सरकारको नेतृत्वसमेत गरिरहेको एमालेले यस सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेको छैन् ।


कर्णाली समय । २ माघ २०८१, बुधबार १२:३५