काठमाडौं पुगेको पाँचौं दिनमा बोहराले भेट्न पाए प्रधानमन्त्री

सुर्खेत– सुर्खेतबाट खाली खुट्टै पैदल हिँडेर काठमाडौं पुगेको पाँच दिनपछि अन्ततः सामाजिक अभियन्ता नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अभियन्ता बोहरा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली र सुर्खेतका नवराज बोहराबीच भेटवार्ता । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय 

भेटमा बोहराले कर्णालीको सुशासन, पर्यावरणीय विकास र पशु अधिकार उल्लंघन लगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कर्णालीका समस्या बालुवाटार (प्रधानमन्त्री) लाई सुनाउने उद्देश्यले वीरेन्द्रनगरबाट खाली खुट्टा ६०० किमि पैदल हिँडेर ३१ औं दिनमा काठमाडौं पुगेका थिए । असार ३ गते काठमाडौं पुगेका उनले सोही दिन प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेपनि भेट्न पाएनन् । भ्रष्टाचार विरुद्धको सत्याग्रहीलाई भेट नदिएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो । सिंहदरबार पुगेका उनलाई प्रधानमन्त्रीको सचिवालयले गोल्डस्टार कम्पनीको जुत्ता उपहार दिएर पठाएको थियो । तर उनले प्रधानमन्त्री नभेट्दासम्म जुत्ता नलगाउने उद्घोष गरेका थिए ।

प्रधानमन्त्री ओली र बोहराबीच ४५ मिनेट कुराकानी भएको थियो । भेटमा बोहराले आफ्नो यात्रा अनुभवनका साथै कर्णालीमा व्याप्त अभाव, पछ्यौटेपनले निम्त्याएको समस्या, बढ्दो भ्रष्टाचार, पर्यावरणीय असन्तुलन, पशु अधिकार संरक्षणमा केन्द्रित रहेर आफ्ना माग प्रस्तुत गरेका थिए । ‘नवराज भेडा’का नामले परिचित उनी पशु अधिकारकर्मी पनि हुन् । सुर्खेतमा उनले छाडा पशु चौपायाको संरक्षण, घाइते पशुको उपचार, बेवारिसे पशु चौपायाको उद्धार गर्दै आएका छन् ।

प्रधानमन्त्रीले बोहराको सकारात्मक अभियानलाई समर्थन जनाएपनि आफ्नो स्वास्थ्यलाई ख्याल गरेर सामाजिक परिवर्तनमा लाग्न आग्रह गरे । ‘आफू स्वस्थ्य भएर समाज रुपान्तरणको अभियानमा लाग्नुपर्छ, खाली खुट्टा पैदल हिँडेर यति लामो यात्रा गर्दा स्वास्थ्य बलियो हुँदैन्, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेटमा सहभागी एमाले नेता टेकेन्द्रकुमार बस्नेतले भने, ‘आफू पनि भ्रष्टाचार नियन्त्रण गर्न खोजिरहेको छु, तर कताबाट भइरहेको हुँदोरहेछ, भ्रष्टाचार नियन्त्रणमा सिंगो राज्य लागिरहेको छ, पवित्र भावका साथ अभियान सञ्चालन गर्नुस ।’

यसअघि सचिवालयका कर्मचारीमार्फत जुत्ता उपहार दिएका प्रधानमन्त्रीले आइतबारको भेटमा ‘मोजा’ उपहार दिए । बालुवाटार प्रधानमन्त्री निवासको मूल गेटसम्म उनी खाली खुट्टै पुगेका थिए । प्रधानमन्त्रीसंगको भेटमा भने उनले उपहार पाएको जुत्ता लगाएका थिए । बोहराले प्रधानमन्त्रीसंगको भेटवार्तामा आफ्नो पहिलो चरणको अभियान पुरा भएकाले अब जुत्ता लगाउने र दाह्री काट्ने बताए । ‘तपाइँलाई कर्णालीका समस्या सुनाउनु नै मुख्य उद्देश्य थियो, त्यो आज पुरा भयो, म खुसी छु, अब जुत्ता लगाउँछु, दाह्री काट्छु,’ उनले भने । कर्णालीको बेथिति र भ्रष्टाचारविरुद्ध भने खबरदारी भने गरिरहने बताए ।

प्रधानमन्त्री भेट्नुअघि सुर्खेत १ का सांसद एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत २ का सांसद हृदयराम थानीलाई पनि भेटेका थिए । बोहराले जेठ ४ गते सुर्खेतको वीरेन्द्रनगरबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,