कर्णाली प्रदेशसभा ः बल्ल बन्यो कार्य व्यवस्था परामर्श समिति

सुर्खेत–कर्णाली प्रदेशसभा बैठक सञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रदेशसभाको आइतबार बसेको १३ औं बैठकमा सभामुख नन्दा गुरुङले ९ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको जानकारी दिनुभयो ।


सभामुखको नेतृत्वमा गठन हुने समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्ट, एमालेका प्रमुख सचेतक टेकराज पछाई, माओवादी केन्द्रका प्रमुख सचेतक रणसिं परियार हुनुहुन्छ । त्यस्तै, नेकपा (एकिकृत समाजवादी) का कल्यानी खड्का, राप्रपाका सन्तोसी शाही र स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाही समिति सदस्य हुनुहुन्छ । समितिमा उपसभामुख र आन्तरिक मामिला तथा कानुनीमन्त्री पदेन सदस्य रहने प्रावधान छ । उपसभामुख यशोदा न्यौपाने र कानूनमन्त्री कृष्ण जिसी हुनुहुन्छ ।

संसदमा कार्य व्यवस्था परामर्श समितिलाई सभामुखको सल्लाहकारका रुपमा लिने गरिन्छ । समितिले प्रदेशसभाको बैठकमा पेश हुने कार्यसूचीहरुको निर्धारण, प्राथमिकता तथा समयावधि निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने र सभामुखले आवश्यक अन्य विषयमा परामर्श दिने काम गर्दछ । समितिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यहरु समितिमा रहने व्यवस्था छ । कर्णाली प्रदेशसभा नियमावली २०७९ ले बढीमा ११ जना सदस्य रहने व्यवस्था गरेको छ ।