बबईमा कर्णाली र लुम्बिनी प्रदेश प्रहरीको असुली आतंक !

प्रकाश अधिकारी/सुर्खेत– सार्वजनिक सवारी साधनमा नेपालगञ्जबाट सुर्खेत या सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै हुनुहुन्छ भने बबई नाकामा तपाइँ एउटा यस्तो दृश्य देख्नुहुन्छ । जहाँ चेकिङ पोष्टमा रोकिनु अगावै गाडीको साइडबाट कन्डक्टर ओर्लन्छन् । ब्लुबुक, लाइसेन्स खोल्छन् र सय रुपैयाँको नोट राखेर प्रहरीतर्फ जान्छन् । अनि प्रहरीले नोट बुझेको केही सेकेन्डमै गाडी गन्तव्यतर्फ लाग्छ । यो दृश्य कुनै एकजना चालक, एउटा गाडी वा एउटै ठाउँमा मात्र देखिँदैन् । बबई पुल वारि होस् या पारि । गाडी चालक वा कन्डक्टरले पुल पारिकै शैलीमा पुल वारि पनि प्रहरीलाई नगद बुझाउँछन् । जुन अवैध रकम हो । बिना प्रमाण, बिना रसिद प्रहरीले सयौं सवारी साधनबाट वर्षौंदेखि गैरकानुनी रुपमा खुलेआम रकम असुल्दै आएका छन् ।

रत्न राजमार्ग (कोहलपुर–सुर्खेत सडक) अन्तर्गत बबई नदीले छुट्याउँछ, लुम्बिनी र कर्णाली प्रदेशको सीमाना । पुल वारि सुर्खेत र पारि बर्दिया जिल्ला पर्दछन् । यही सडकमा दिनहुँ सयौं मालवाहक र यात्रुवाहक सवारी साधनहरु गुड्छन् । ती सवारी साधनले ट्राफिक र जनपद प्रहरीलाई एउटा ट्रिपको ५० देखि १०० रुपैयाँसम्म बुझाउँदै आएका छन् । चालकहरुका अनुसार सुर्खेतको सुब्बाकुना, छिञ्चु, बबई पुलवारि, पुलपारि (बर्दिया) र बाँकेको चिसापानीमा ट्राफिक प्रहरीका पोष्टमा अवैध रुपमा पैसा बुझाइन्छ । ‘दुई सय मिटरको दुरीमा दुई ठाउँमा दुई सय रुपैयाँ एउटै लटमा बुझाउनुपर्छ, कहिलेकाहीँ त गाडीमा प्यासेन्जर नै हुँदैनन्, आफ्नो व्यक्तिगत पैसा निकालेर प्रहरीलाई बुझाउनुपर्छ,’ बागेश्वरी यातायात व्यवसायी प्रालिमा आवद्ध एक चालक भन्छन्, ‘बिना गल्ती, प्यासेन्जर नहुँदा पनि पैसा बुझाउँदा मन कटक्क खान्छ, नदिँदा चेकिङको नाउमा अनावश्यक दुःख दिन्छन्, यो त अचाक्ली भो, सिस्टम नै बसिसक्यो ।’

कांक्रेविहार यातायात व्यवसायी प्रालिमा आवद्ध भई नेपालगञ्ज–सुर्खेत रुटमा इभी गाडी चलाइरहेका अर्का एक चालक पनि प्रहरीलाई ठाउँ–ठाउँमा पैसा बुझाउनुपर्ने बाध्यता रहेको सुनाउँछन् । ‘प्रहरीलाई रुपैयाँ नदिने हो भने अनावश्यक सताउँछन्, यदि नदिएमा यात्रु किन बढी बसालेको, सामान किन राखेको ? जस्ता प्रश्नले हैरानी बहोर्नुपर्छ, ती चालकले भने । विगतमा मिडिया समक्ष गुनासो पोख्दा प्रहरीबाट धम्की आएको चालकहरु दुखेसो छ । त्यसले गर्दा चालकहरु गाडी नम्बरसहितको परिचय नखुलाउन मिडिया समक्ष अनुनय गर्छन् ।

स्थानीय प्रहरीका भनाईमा केही वर्ष अघिसम्म लुम्बिनी र कर्णालीका प्रहरीबीच अघोषित सम्झौता थियो, बबई पुलपारि दिएमा वारि दिन नपर्ने, वारि दिएमा पारि दिन नपर्ने । तर अहिले यो भद्र सम्झौता दुइटै प्रदेशका प्रहरीले पालना गरेका छैनन् । सुर्खेत र बर्दियाका जिल्लाका प्रहरीले यति छोटो दुरीमा पैसा असुल्न थालेपछि गाडी चालकहरु दिक्क छन् । अन्तर प्रदेशको बहानामा गरिने चेकिङले आतंक सिर्जना गरेको उनीहरुको आरोप छ ।

रत्न राजमार्गमा दैनिक ४०० हाराहारीमा सवारी साधन चल्छन् । ती गाडीबाट एउटै रुटको मात्र हिसाब गर्दा पाँच ठाउँबाट गरी ५० देखि १०० रुपैयाँका दरले दैनिक हजारौं जम्मा हुन्छ । मासिक हिसाब गर्दा भने यो अंक लाखौंमा परिणत हुन्छ । अझ कतिपय यात्रुले घरायसी प्रयोजनका लागि ल्याइएका न्यून परिमाणका स–साना सामानसमेत प्रहरीले भन्सारकै शैलीमा चेकिङ गर्ने गरेको गुनासो छ । बिलको खोजी गर्छ । बिल नदेखाउन नसके प्रहरीलाई सुटुक्क पैसा दिएमा सहजै छाडिदिन्छ । भन्सार शैलीको चेकिङमा प्रहरीले सास्ती दिएपछि केही अघि यात्रुहरुले बबईस्थित राजमार्गमै अवरोध पु¥याएर सडक जाम गरेको घटना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

वर्षौंदेखि यातायात व्यवसायीहरु प्रहरीको आतंक र अवैध दस्तुरको सिकार भइरहँदा दुई प्रदेशको राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्र मौन छन् । पटक–पटक प्रहरीको प्रदेश र जिल्ला नेतृत्व परिवर्तन हुँदा यो विषय जोडतोडले उठ्छ, उठाइन्छ । तर सुधार आउन नसकेपछि सवारीधनी र चालकहरु अचेल बोल्नै छाडेका छन् । नेपाल प्रहरीको छविमा धब्बा लाग्ने सुर्खेत–कोहलपुर–नेपालगञ्ज रूटमा देखिने यो चित्रबारे प्रहरीका उच्च अधिकारीहरु जानकार नभएका होइनन् । सुधारको प्रयास नहुँदा यातायात व्यवसायीले स्थानीय प्रहरी र माथिल्लो निकायका प्रहरीबीच मिलेमत्तोको आशंका गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक भावेश रिमालले सवारी साधनबाट असुली गर्ने प्रहरीलाई विगतमा कारबाही गरिएको दाबी गर्दै थप निगरानी गरिने बताए । ‘ड्युटीमा खटिएको कर्मचारीले अनुशासन विपरीत र गैरकानुनी काम गरेमा कारबाही हुन्छ, हुँदै पनि आएको छ, बबईको सन्दर्भमा पनि हामी फेरी सुक्ष्म निगरानी गर्छौं,’ उनले भने ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठले बबईमा अनुशासन विपरीत काम गर्ने प्रहरीको जिम्मेवारी हेरफेर गर्न लागिएको बताए । धेरै गुनासो आएपछि त्यहाँ खटिएकालाई जिल्लामा तान्न निर्देशन दिएको उनको भनाई छ । ‘कर्णाली प्रदेश भित्रिँदा बबई नाकामा सुर्खेतले चेकिङ गर्ने र बाहिरिँदा वा बबई पार गरेपछि बर्दिया प्रहरीले चेकिङ गर्ने गरी लुम्बिनी प्रदेश प्रहरीसंग समन्वय भइरहेको छ, डिआईजी श्रेष्ठले भने । त्यस्तै, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र भट्टले बबईमा खटिएका प्रहरीलाई कारबाहीको सम्बन्धमा बर्दिया प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताए ।