जाजरकोटको जुनीचाँदे र मुगुको सोरुमा गरिबी दर उच्च

तस्बिर : एआई जेनेरेट

सुर्खेत– कर्णाली प्रदेशमा औषत राष्ट्रिय तथ्यांक भन्दा ६ प्रतिशतले गरिबी रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ को प्रतिवेदन अनुसार कर्णालीमा २६.६९ प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । जबकी नेपालमा २०.२७ प्रतिशत जनसंख्या औषत गरिबीको रेखामुनी छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो पटक गरिबी मापन गर्दा वार्षिक ७२ हजार ९०८ रुपैयाँको आधारमा गरेको थियो । आर्थिक वर्ष २०६६/०६७ मा १९ हजार २६१ रुपैयाँ थियो । गरिबीको नयाँ रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति जम्मा खर्च ७२ हजार ९०८ रुपैयाँ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब अन्तर्गत वर्गिकरण गरिएको छ । नयाँ गरिबीको वर्गिकरण अनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको प्रतिवेदनले देखाएको हो ।

सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा रहेको छ । सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत गरिबीको दर रहँदा कर्णाली प्रदेशमा भने त्यो भन्दा कम अर्थात २६.६९ प्रतिशत गरिबीको दर छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण गर्दै आएको छ । सोहीबमोजिम आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबीमापन गरिँदै आएको कार्यालयले जनाएको छ।

तथ्यांक कार्यालयले स्थानीय तहको गरिबीको दरसमेत मापन गरेको छ । प्रतिवेदनअनुसार धेरै गरिबी हुने स्थानीय तह कर्णाली र सुदूरपश्चिमका छन् । जिल्लागत गरिबीको दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा ४९.५८ प्रतिशत रहेको पाइएको छ ।

त्यस्तै जाजरकोटको जुनीचाँदे गाउँपालिकामा नेपालकै सबभन्दा धेरै गरिबी देखिएको छ । यहाँको २३ हजार ७७१ जनसंख्या मध्ये ७७.८९ प्रतिशत गरिबीको रेखामुनि छन् । जाजरकोटको उत्तरपश्चिममा अवस्थित जुनीचाँदे गाउँपालिकामा साबिकका मजकोट, दह, कोर्तांग र गर्खाकोट गाविस पर्दछन् । मुगुको सोरू गाउँपालिकाका १४ हजार २७७ जनसंख्यामध्ये ७२.३६ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । गरिबीको तेस्रो स्थानमा अछामको ढकारी गाउँपालिका छ । यहाँका २१ हजार ९९८ जनसंख्यामध्ये ७०.५७ प्रतिशत गरिबीको रेखामुनि छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,