
सुर्खेत- एथर नेपालले कर्णाली प्रदेशमा आफ्नो विद्युतीय मोबिलिटी सेवा विस्तार गर्दै वीरेन्द्रनगरमा १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । एथर नेपालले असोज ५ गते वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो ।
सुर्खेतमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै कर्णालीका ग्राहकले एथरका विद्युतीय स्कुटरको अवलोकन, जानकारी तथा बिक्रीपछिको सेवासहितका सुविधा स्थानीयस्तरमै प्राप्त गर्ने कम्पनीले जनाएको छ । नयाँ एक्सपेरियन्स सेन्टरको उद्घाटन कार्यक्रममा स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाको अध्यक्षता रहेको थियो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा तत्कालीन कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष लक्ष्मण कँडेल, संघका पूर्ववरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतलगायत उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी तथा शुभेच्छुकको सहभागिता थियो । कार्यक्रममा एथरका ब्रान्ड डेभलपमेन्ट म्यानेजर सलमान खानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सैयद अन्वर अलीले गरेका थिए ।
कम्पनीले देशका विभिन्न स्थानमा एक्सपेरियन्स सेन्टर विस्तार गर्दै विद्युतीय सवारीको पहुँच बढाउने उद्देश्यअनुसार सुर्खेतमा नयाँ केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । कर्णालीमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको अवस्थामा सुर्खेतमा स्थापना गरिएको केन्द्रले ग्राहकलाई विद्युतीय स्कुटरसम्बन्धी जानकारी तथा सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।



कर्णाली समय । ५ आश्विन २०८३, सोमबार १७:०६