एमाले प्रर्दशन : प्रहरीको लाठीचार्जबाट पदाधिकारीसहितका नेताहरु घाइते

सुर्खेत- एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आयोजित विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

सोमबार साँझ जिल्ला पार्टी कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा निकालिएको राँके जुलुसमा प्रहरी हस्तक्षेप भएपछि स्थिति तनावग्रस्त बनेको हो। एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहन बडुवाल, सचिव डम्बर तिवारी, उपसचिव सुशिला विश्वकर्मा लगायतका नेताहरु घाइते छन् ।

शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेको अवस्थामा प्रहरी पार्टी कार्यालयमै आएर कार्यकर्तामाथि लाठी प्रहार गरेको एमालेको आरोप छ । ‘हामीले शान्त तरिकाले प्रदर्शन गरिरहेका थियौँ। प्रहरी एक्कासी आएर हाम्रो राँके जुलुस रोक्न खोज्यो र कार्यकर्तामाथि ज्यादती गर्यो,’ जिल्ला उपाध्यक्ष बडुवालले भने, ‘लोकतन्त्रमा बोल्न र विरोध गर्न पाइन्छ, तर प्रहरीले गरेको यो व्यवहार निकै निन्दनीय छ।’

वीरेन्द्रनगरका उपमेयर नीलकण्ठ खनालमाथि पनि लाठी प्रहार भएको र उनी भागेर थप कुटाइबाट जोगिएको बडुवालको भनाइ छ। प्रहरीको लाठीचार्जबाट एमाले सुर्खेत जिल्ला कमिटी सदस्य तथा देउतिनागरिक यातायात प्रा लिका अध्यक्ष कमल खड्का जुनि, रामु खत्री लगायतका नेताहरु घाइते भएका छन् ।

यता घटनाक्रमका क्रममा एक प्रदर्शनकारीले मुक्का प्रहार गर्दा नगर प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन भट्टराई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार भीड नियन्त्रणका लागि खटिएका प्रहरी निरीक्षक भट्टराईमाथि एक्कासि मुक्का प्रहार हुँदा उनको अगाडिको माथिल्लो दाँत भाँचिएको छ। प्रहरीमाथि हातपात गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बुढथापाले जानकारी दिए।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,