सुर्खेत– प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर) मा प्रायः आपतकालिन सहायताका फोनहरु आउँछन् । यो कल सर्वसाधारणले आपतकालीन अवस्था (जस्तैः झगडा, चोरी, दुर्घटना, हिंसा आदि) मा प्रहरीको सहायता माग्नका लागि गर्ने गर्छन् ।
प्रहरीले पनि यस्ता कललाई ‘इमिडिएट रिस्पोन्स कल’ वा आपतकालीन उजुरी भनेर नोटिस गरेको हुन्छ । यसरी आएको कल प्रहरी कन्ट्रोल रुमबाट आवश्यक परेको खण्डमा नजिकको प्रहरी टोलीलाई तुरुन्तै पठाइन्छ । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतको कन्ट्रोल रुममा यही असार ३० गते दिउँसो १ बजे एउटा यस्तो कल आयो । जसले एउटा ठूलो अपराधको जालोलाई छर्लंग पारिदिएको छ ।
वीरेन्द्रनगर १० का एक जना व्यापारीले १०० नम्बर डायल गर्दै प्रहरीलाई भने, ‘सर नक्कली जस्तो देखिने एक हजारको रुपैयाँको नोटसहित एक जना पसलमा आउनुभएको छ, नक्कली÷सक्कली के हो बुझिदिनुप¥यो ।’ ती व्यापारीले पसलमा आएकी युवतीलाई केहीबेर बस्न भन्दै उनले थाहा नपाउने गरी प्रहरीलाई खबर सुनाए । कन्ट्रोल रुमले तत्कालै प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापा र एसपी सुधिरराज शाहीलाई उक्त सूचना पु¥यायो ।
सूचनालाई तत्कालै रिस्पोन्स गर्दै डिएसपी बुढथापाको नेतृत्वमा टोली घटनास्थलतर्फ खटियो । डिएसपी नेतृत्वकोे टोलीले सतर्कता अपनाउँदै पसलमा पुगेर युवतीलाई नियन्त्रणमा लियो । ती युवती थिइन्, वीरेन्द्रनगर १० शान्ति टोलमा भाडामा बस्दै आएकी कुशे गाउँपालिका–५ जाजरकोटकी २२ वर्षीय दिलमाया सिंह ठकुरी । प्रहरीले सामान्य सोधपुछ गर्दा दिलमायाले आफूसँग एउटा मात्रै नोट भएको बताइन् । प्रहरीले उनको शरीरमा खानतलासी गर्दा एक हजारका ६ थान खोटा मुद्रा (नक्कली नोट) बरामद ग¥यो । पक्राउ गरेर दिलमायालाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान प्रक्रिया थाल्यो ।
असार २५ गते साँझ साढे ६ बजे पाँच केजी ४० ग्राम अफिमसहित प्रहरीले जाजरकोट जुनीचाँदे गाउँपालिका–१० सिर्पा बस्ने ४६ वर्षीय जयबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । अफिमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना आएपछि प्रहरीले एक महिनासम्म निगरानी राखेर बस्नेतलाई पक्राउ गरेको थियो । युवती कसरी नक्कली नोटको जालोमा परिन् त भन्ने शंका बढ्यो । ३० असार दिउँसो साढे १ बजेबाट अनुसन्धान प्रक्रिया थालिसकेको थियो । कम्तीमा साढे चार घण्टा लगाएर दिलमायामाथि विभिन्न चरणबाट अनुसन्धान थाल्दा थप व्यक्तिको संलग्नता हुनसक्ने बलिया आधार फेला परे ।
दिलमायालाई लिएर डिएसपी नेतृत्वको टोली थप अनुसन्धानमा खटियो । ३० गते साँझ ६ बजे उनी बस्ने वीरेन्द्रनगरस्थित कोठामा पुगेर खानतलासी ग¥यो । उनको कोठाबाट एक हजार रुपैयाँका १२३६ नोटसहित १२ लाख ३६ हजार नक्कली नोट फेला परेपछि अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको एसपी शाही बताउँछन् । नक्कली नोटसहित पक्राउ परेकी दिलमायाका दाजु ३३ वर्षीय रामबहादुर सिंह पनि अनुसन्धानमा तानिए । दाजु र बहिनी नै पक्राउ पर्दासम्म प्रहरीले यसको सञ्जाल थप रहेको तथ्य फेला पा¥यो । रामबहादुरले नक्कली नोट आफुसँग आइपुग्नुमा छिञ्चुमा रहेका दुई जनाको नाम दिए । डिएसपी बुढथापाको टोली घटनालाई पछ्याउँदै छिञ्चुतर्फ लाग्यो । जाली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गर्न राती १० बजे प्रहरी छिन्चु पुग्यो । भेरीगंगा नगरपालिका १२ ठकुरी टोलमा कोठाभाडामा बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकलाई ११ केजी ३७२ अफिमसहित पक्राउ ग¥यो । उनीहरु दुवै कुशे गाउँपालिका ७ का बासिन्दा हुन् ।
‘नक्कली नोट बनाउने मुख्य व्यक्ति बाँकेको कोहलपुरमा रहेको पक्राउ परेकाले बयान दिएपछि डिएसपी नेतृत्वको टोलीलाई मध्यराती कोहलपुरतर्फ पठाइयो, एसपी शाहीले भने, ‘इलाका प्रहरी कार्यालय कोहलपुरको समन्वयमा आफूलाई पत्रकार बताउने मनबहादुर सहकारीलाई पक्राउ गर्न सफल भएका हौं ।’ कोहलपुर नगरपालिका–११ न्यूरोडबाट सहकारीलाई मंगलबार विहान साढे ८ बजे प्रहरीले पक्राउ ग¥यो । पक्राउ गर्दा सहकारीले आफू पत्रकार भएको र यसरी पक्राउ गर्दा राम्रो नहुने भन्दै डिएसपी बुढथापालाई थर्काएको एसपी शाही बताउँछन् । ‘अनुसन्धानका लागि बलिया आधार थिए, त्यहीँ आधारमा सुर्खेतबाट प्रहरी त्यहाँसम्म पुगेको थियो,’ उनी भन्छन्, ‘सुरुमा प्रहरीलाई राम्ररी नै थर्काए, उनलाई पक्राउ गरेर मिडिया हाउस र कोठाबाट एक हजारका ५१ हजारका नक्कली नोट बरामद भयो ।’
सुरुमा निकै जंगिएका मिडिया सञ्चालक सहकारीले नक्कली नोट आफैले छापेको बयान दिए । सहकारीले जनगर्जन नेटवर्क प्रालि नामक मिडियाको आवरणमा नक्कली नोटको कारोबारसँगै नक्कली नोट बनाउने गैरकानूनी कार्यमा संलग्न भएको डिएसपी बुढथापा बताउँछन् । सहकारी कालिकोटको नरहरिनाथ गाउँपालिका–४ का बासिन्दा हुन् । प्रहरीका अनुसार सहकारीको कोठाबाट १९ ग्राम लागुऔषध अफिमका साथै नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर, कम्प्युटर, कार्डरिडर, मेमोरी कार्ड र क्यामेरा एक/एक थान बरामद गरेको छ ।
नक्कली नोट बनाउनुको मुख्य उद्देश्य नै अवैध कारोबारमा प्रयोग गर्न, छिट्टै नफस्ने र कारोबार भइरहेको ठाउँमा शंकास्पद व्यक्तिको प्रवेश भएमा तत्कालै त्यहीँ छाडेर भाग्न सजिलो हुने भएकाले छाप्ने गरेको सहकारीले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । सहकारी नै मुख्य नक्कली नोट छाप्ने र बाहिर पठाउने व्यक्ति भएको खुलेको प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारबारी उद्योगमा मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले झण्डै दुई लाख रुपैयाँ सक्कली नोटसँग साटिसकेकाले कारोबार गर्दा सचेत रहन प्रहरीले अपिल गरेको छ । प्रहरीका अनुसार ती नक्कली नोटहरू अफिम खरिदका लागि व्यापारीहरूलाई दिएको र बाँके, सुर्खेत, जाजरकोट जिल्लाहरूमा ती नोट बाँडिएको खुलेको छ ।

कर्णाली समय । १ श्रावण २०८२, बुधबार २०:३७