सुर्खेत– कर्णाली प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका जीर्ण र पुराना पूर्वाधारहरुको दिगो व्यवस्थापन एवं स्तरोन्नति गर्ने उद्देश्यले ग्रामिण खानेपानी सेवा सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।
तस्बिरः एआई
कर्णाली प्रदेशको उर्जा तथा जलस्रोत मन्त्रालयले सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा २१ वटा स्थानीय तहमा ग्रामिण खानेपानी व्यवस्थाको तथ्यांक संकलन र विश्लेषणको काम गर्दै आएको छ । यस वर्ष थप चार स्थानीय तह थपिएका छन् । मन्त्रालयका अनुसार कर्णालीमा नमूनाका रुपमा लागू भएको ग्रामिण खानेपानी सेवा सहायता केन्द्रको अवधारणालाई अन्य प्रदेशमा पनि विस्तार गर्ने उद्देश्यका साथ सोमबार औपचारिक शुभारम्भ हुँदैछ ।
उर्जा तथा जलस्रोत मन्त्रालय, कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा ग्रामिण खानेपानी सेवा सहायता केन्द्रको शुभारम्भ हुने भएको हो । यसका लागि संघीय खानेपानी मन्त्री प्रदीप यादवसहितको टोली सुर्खेत आउने कार्यक्रम छ । मन्त्री यादवले सुस्वा आयोजनाद्धारा डोल्पा जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइका पूर्वाधारहरुको अवस्था अवलोकन गरिसकेका छन् ।
उर्जा तथा जलस्रोत मन्त्रालयका शाखा अधिकृत कमला खानले सहायता केन्द्रको शुभारम्भसंगै हालसम्मको प्रगति र सिकाइबारे कार्यशालामा छलफल हुने बताइन् । उनका अनुसार कर्णालीका ग्रामिण भेगमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था, खानेपानीका नया र पुराना पूर्वाधारहरुको अवस्था र पुराना योजनाको दिगो व्यवस्थापन एवं स्तरोन्नतिको विस्तृतमा रुपरेखा सार्वजनिक हुनेछ । ‘खानेपानीका नयाँ–नयाँ योजना थप्दै जाँदा पुराना र थोरै खर्चमा मर्मत गर्न सकिने योजनाहरु अलपत्र परेको पाइएको छ, कर्णाली प्रदेशको वास फोकल पर्सनसमेत रहेकी खानले भनिन्, ‘पुराना र जीर्ण योजनाहरु मर्मत गरेर पनि समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सकिने अवस्था रहदा बजेटको पनि सदुपयोग हुन्छ ।’
प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रालयको २०७९ माघ २० गतेको मन्त्रीस्तरीय निर्णय र चालू आवको नीति तथा कार्यक्रममा “ग्रामीण खानेपानी सेवा सहायता केन्द्रः कर्णाली प्रदेशको प्रतिवद्धता” भन्ने नारा समेटिएको थियो । त्यस्तै सेवा सहायता केन्द्रको सबलीकरणका लागि मन्त्रालयले यस वर्ष रु. ४० लाख विनियोजन गरेको छ ।
कार्यशालामा खानेपानी तथा सरसफाइको क्षेत्रमा तीन वटै तहका सरकार, दातृ निकाय र समुदायले गरेका प्रयासहरुबारे पनि कार्यक्रममा छलफल हुनेछ । ग्रामिण खानेपानी सेवा सहायता केन्द्रलाई पूर्ण रूपमा परिचालन र दिगो स्थायी संरचना बनाउने सम्बन्धमा छलफल हुनुका साथै आयोजनाको दिगोपनासम्बन्धी सेवा सहायता अभियानको सुर्खेत घोषणापत्र जारी हुनेछ ।


कर्णाली समय । १६ मंसिर २०८१, आईतवार १४:२७