महासचिव नरेश रोकाया भन्छन्, ‘अनेरास्ववियुले विश्वविद्यालयमा ताला लगाउँदैन्’

सुर्खेत– अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले विश्वविद्यालयहरुमा तालामुक्त गर्ने अभियानको नेतृत्व आफूहरुले नै गरेको बताएका छन् ।

सोमबार मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो संगठनले कुनै विश्वविद्यालयमा पनि ताला नलगाएको दाबी गरे । ‘विश्वविद्यालय र क्याम्पसहरुमा अनेकौं खालका झैंझगडा र तालाबन्दीका घटनाहरु भइरहेको छन्, त्यसमा हामीले नै तालारहित विश्विद्यालयको अभियान चलाउँदै तालामुक्त गरिरहेका छौं,’ महासचिव रोकायाले भने, ‘तालाबन्दी गर्ने होइन, जहाँनेर समस्या छ त्यहीँनेर समस्याको समाधान गर्ने हो, तालाबन्दीले परीक्षा कार्यतालिका प्रभावित हुन गई विद्यार्थीको भविष्य बर्बाद हुन जान्छ ।’

साथै उनले अखिलले नै विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने नभई मेरिट्सका आधारमा गर्न सरकारलाई दबाब दिँदै आएको बताए । विश्वविद्यालय विश्वबजारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने थलो भएकाले राजनीतिकरण गर्न नहुनेमा अनेरास्ववियु सचेत रहेको महासचिव रोकायाको भनाई थियो । उनले भने, ‘देशको भविष्य हेर्न पहिला विश्वविद्यालयका कक्षाकोठा हेर्नुपर्छ, त्यही भएर विद्यार्थीको हकहितका लागि साझा संस्थाका रुपमा स्ववियू चाहिन्छ भनेर लडेर ल्याएका हौं, अति राजनीतिकरणको पक्षमा हामी कदापि छैनौं ।’

स्ववियु सभापतिका उम्मेदवार ललितजंग शाहीले गुणस्तरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितता, तालाबन्दीरहित विश्वविद्यालय अनेरास्ववियुको प्रतिबद्धता भन्ने नाराका साथ आफूहरु चुनावी अभियानमा होमिएको बताए । अनेरास्ववियुले डिजिटल सिकाइलाई प्रोत्साहन गर्ने, छात्रवृत्ति कोटा वृद्धि गर्ने पहल गर्ने, विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा अघि बढाउन सहयोग गर्ने, क्याम्पस परिसरमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने, अपांगतामैत्री र प्रविधिमैत्री संरचना निर्माण गर्ने जस्ता प्रतिवद्धता अघि सारेको छ ।

यही भदौ २८ गत्ते हुने मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट रोशन बस्नेत, अखिलबाट जगतजंग शाही र अखिल (क्रान्तिकारी) बाट दीपक खड्का सभापतिका उम्मेदवार छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,