यी हुन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयकाृ सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८१’ लाई पनि स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

बैठकले मन्त्रालयहरूको कामकारबाही अनुगमन गर्न एक अनुगमन इकाई गठन गर्ने निर्णय गरेको छ । तीन सदस्यीय उक्त समितिले प्रत्येक मन्त्रालयको कामकाज, सूचनाको हक कार्यान्वयनको अवस्था र सूचना अधिकारीको कार्यसम्पादनबारे अनुगमन गर्नेछ । उक्त इकाईको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय सुधार महाशाखाका सचिव रहनेछन् । सदस्यहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना तथा सञ्चार महाशाखाका उपसचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी रहनेछन् ।

प्रवक्ता शाहका अनुसार बैठकले जाजरकोटको चुनीचाँदे गाउँपालिकाको केन्द्र तोक्ने विषयमा पनि निर्णय गरेको छ । गाउँ कार्यपालिकाले तोकेको केन्द्रलाई प्रदेश मन्त्रिपरिषद्ले परिवर्तन गरेपछि उक्त विषय सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले गाउँपालिकाकै निर्णयलाई सदर गरेपछि सोही निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।