
सुर्खेत- सुर्खेतमा युवा र विद्यार्थीहरुमाझ लोकतन्त्र, संघीयता र संसदीय प्रणालीबारे बहस गरिएको छ ।
संसदीय मामिला पत्रकार समाज, कर्णाली प्रदेशको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाको सहकार्यमा बिहीबार मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएट स्कुल अफ एजुकेशनको हलमा ‘लोकतन्त्र, संघीयता र संसद् : अभ्यास, अनुभव र अपेक्षा’ विषयक प्यानल छलफल सम्पन्न भएको हो ।
छलफलमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नागरिक अगुवा पिताम्बर ढकालले आ–आफ्ना अनुभव, धारणा र दृष्टिकोण प्रस्तुत गरेका थिए । पत्रकार प्रकाश अधिकारीले सहजीकरण गरेको छलफलमा मध्यपश्चिम विश्वविद्यालय र त्रिवि अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसका विद्यार्थी सहभागी थिए । छलफलमा संविधानले परिकल्पना गरेको संघीयता र व्यवहारमा कार्यान्वयन भइरहेको संघीयताबीचको अन्तर, प्रदेशसभाले भोगिरहेका चुनौती, नागरिकले संघीयताको अनुभूति गर्न सके–नसकेको अवस्था, जनप्रतिनिधिको जवाफदेहिता र नयाँ पुस्ताले अपेक्षा गरेको लोकतन्त्रका विषयमा बहस भएको थियो ।
प्रदेशसभा सदस्य भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको राजनीतिक तथा संवैधानिक अभ्यासबारे चर्चा गर्दै संविधानले परिकल्पना गरेको संघीयता र अहिले कार्यान्वयन भइरहेको संघीयताबीच भिन्नता रहेकाले कार्यान्वयनमा समस्या देखिएको बताए । साथै प्रदेशसभा सदस्य भण्डारीले प्रदेशले युवा नीतिको मस्यौदा तयार गरेको र उक्त नीतिका आधारमा प्रदेशका युवालाई केन्द्रित गरी संरचनाको विकास गर्न आफू तत्पर रहेको बताए । “हाम्रा युवालाई लोकतन्त्र, विकास र रोजगारीमा जोड्न नीतिगत पहलको खाँचो छ”, उनले भने ।
वीरेन्द्रनगरका नगरप्रमुख ढकालले संघीयताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको र नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्ने ठाउँ पनि स्थानीय तह नै रहेको बताइन् । स्थानीय सरकार सञ्चालनको अनुभवका आधारमा संघीयताले नागरिकको जीवनमा विभिन्न परिवर्तन ल्याएको उनको दाबी थियो । वीरेन्द्रनगरमा पछिल्लो समय शिक्षा, पूर्वाधार, सेवा प्रवाहलगायतका क्षेत्रमा देखिएका परिवर्तन संघीय शासन व्यवस्थाको अभ्याससँग जोडिएको बताइन् । उनले वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी मात्रै नभई प्रदेशको प्रशासनिक, शैक्षिक र आर्थिक केन्द्रसमेत भएकाले राजधानीको विकास र नागरिकका आधारभूत आवश्यकताबीच सन्तुलन कायम गर्दै अघि बढेको उनको धारणा थियो।

नागरिक अगुवा ढकालले भने नागरिकले अपेक्षा गरेअनुसार संघीयताको अनुभूति गर्न नपाएको धारणा राखे । संविधान निर्माणका क्रममा परिकल्पना गरिएको संघीय शासन व्यवस्था व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । रोजगारी सिर्जना र नागरिकका आधारभूत आवश्यकताका विषय राज्यका प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्दै उनले संघीयताको औचित्य नागरिकको जीवनमा देखिने परिवर्तनबाट पुष्टि हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यार्थीका जिज्ञासा, जनप्रतिनिधिका अनुभव र नागरिक समाजका दृष्टिकोणलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको थियो । लोकतन्त्र र संघीयताको उपलब्धि तथा कमजोरीको समीक्षा गर्दै आगामी दिनमा शासन प्रणालीलाई नागरिकमैत्री, जवाफदेही र परिणाममुखी बनाउनुपर्ने विषयमा सहभागीबीच छलफल भएको थियो ।



कर्णाली समय । ११ मंसिर २०८३, बिहीबार १२:४४