
मुगु– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारहरुले समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिँदै यसका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभएको छ ।
मुगु सदरमुकाम गमगढीमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम, प्रदेश कार्यक्रम सहयोग इकाईद्वारा आयोजित अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य हुन सके संघीयता सफल हुने बताउनुभयो ।
विशेष गरी विकास निर्माणका कामहरुमा तीन तहबीच पर्याप्त समन्वय र सहकार्य जरुरी रहेको उहाँको भनाई छ । ‘विकास निर्माण, सेवा प्रवाह तथा शासन सञ्चालनमा प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको खाँचो पर्दछ, तीन वटै तहका संयन्त्रहरु अलग–अलग तौरतरिकाले काम गर्दा उल्टै समस्या हुनसक्छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘जति हामी आपसमा समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ अघि बढ्छौं त्यति जनतालाई राहत र सुविधा पाउने अवस्था रहन्छ ।’ उहाँले प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय सरकार तथा संघीय सरकारका जिल्लास्थित कार्यालयहरुको समेत महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो । साथै, मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तह र संघीय निकायहरुसंग गर्नुपर्ने समन्वय कुनै कमी हुन नदिने र सहकार्य गरेरै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले विकास निर्माण साझा सवाल भएकाले कार्यान्वयनका क्रममा देखापरेका समस्यालाई समाधान गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो । अन्तर्क्रियामा जिल्लास्थित प्रदेशका कार्यालय प्रमुखहरुले स्थानीय तह, संघीय कार्यालयबीच विगतमा भएको समन्वय सहकार्यमा देखिएका समस्याहरुबारे अवगत गराएका थिए । कार्यक्रममा संघ, प्रदेश सरकारका जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।



कर्णाली समय । १६ आश्विन २०८३, शुक्रबार १७:३२