कर्णालीको विद्युत समस्याबारे के भन्छन् हितेन्द्रदेव शाक्य ?

सुर्खेत- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी असोजसम्म कर्णालीको विद्यमान विद्युत समस्या हल हुने दाबी गरेका छन् ।

निर्माण आरम्भ भएको लामो समयसम्म पनि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनले पूर्णता नपाएपछि स्थलगत अनुगमनमा कोहलपुर हुँदै सुर्खेत पुगेका शाक्यले आगामी दशैंसम्म आयोजनाले पूर्णता पाउने बताए । बुधबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफलमा शाक्यले प्रशारणलाइनमा देखिएका अवरोध हटाई आयोजनालाई पूर्णता दिने प्रतिवद्धता जनाए ।

शाक्यसँगको भेटपछि मुख्यमन्त्री कँडेलले भने, ‘कर्णालीवासीले भोग्नुपरेको विद्युत समस्या र कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन बिस्तारमा देखिएको समस्याबारे मैले यसअघि उहाँलाई पटक–पटक जानकारी गराउँदै आएको छु । निर्माणाधिन प्रशारण लाइनमा देखिएको अवरोध हटाएर काम सम्पन्न गर्नेबारे प्राधिकरणले सक्दो तदारुकता देखाएको र आगामी असोज महिनासम्म प्रसारण लाइनले पूर्णता पाउने जानकारी उहाँले गराउँनु भएको छ ।’

सुर्खेतको सब्बाकुनास्थित निर्माणाधिन शवस्टेशनको अवलोकन गर्न पुगेका शाक्यले प्रशारण लाइनमा भइरहेको अवरोध समाधान गर्न मातहतका कर्मचारीलाई जिम्मेवार भएर लाग्न निर्देशन दिए । बाँकेको बानियाँभार क्षेत्रमा जारी अवरोध र यसको कारणबारे स्थानीयसँग छलफल गरेर सुर्खेत पुगेका शाक्यले समस्या समाधान उन्मुख रहेको दावी गरे । २२ असार २०७६ बाट सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बाँकेका स्थानीयको अवरोधका कारण सम्पन्न हुन सकेको छैन । स्थानीयको अवरोधका कारण तीन वटा टावर निर्माण रोकिएका छन् ।

बाँकेको कोहलपुरबाट सुरु भई सुर्खेतको सुब्बाकुनामा निर्माणाधिन शवस्टेशनमा जोडिने कुल ५२ किलोमिटर प्रशारण लाइनमा पर्ने एक सय ६१ मध्ये विवाद देखिएको ठाउँ बाहेक अन्य अधिकांश क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भइसकेको छ । २०४५ सालमा विस्तार भएको जिर्ण विद्युत पूर्वाधारका कारण कर्णालीमा सामान्य हावा चल्दापनि हप्तौसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।