सुर्खेत– वीरेन्द्रनगरमा आश्रित बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका यूवाहरुको तर्फबाट शनिबार साढे ३ लाख रुपैँया बराबरको खाद्य सामाग्री सहयोग गरिएको हो ।
वीरेन्द्रनगर –८, खजुरामा रहेको बादी सरोकार मञ्चमा आश्रित ११० जना बालबालिकालाई एमआरआर सुर्खेतको समन्वयमा खाद्य सामाग्री प्रदान गरिएको हो । एमआरआर सुर्खेत संयोजक सागर लम्सालले आवासगृहमा आश्रित बालबालिकाले अभाव झेलिरहेको थाहा पाएपछि अष्ट्रेलियामा रहेका सदस्यहरुले अभियान नै चलाएर सहयोग रकम संकलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आवास गृहमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार काटुन तेल, सुजी र चिउरा पाँच÷पाँच प्याक, एक बोरा नुन र खुर्सानी दिइएको छ ।
त्यस्तै दुई थान पानी शुद्धिकरण फिल्टर, दुई थान माइक स्पीकर, १६ थान लामखुट्टे स्प्रे, पाँच लिटर हार्पीक्स, पाँच लिटर फिनाइल, १४४ थान स्यानेटरी प्याड, वाद्यवादनका साधन र दुई थान प्राथमिक स्वास्थ्य सामाग्री बक्स लगायतका सामाग्री वितरण गरिएको छ । एमआरआर अष्ट्रेलियाका सादस्यहरुले ३ लाख ५७ हजार ५५५ रुपैयाँ संकलन गरेर पठाएको बताइएको छ ।
खाद्य सामग्री वितरण कार्यक्रममा एमआरआर सुर्खेतका सदस्य रमेशविक्रम हमालले वादी बालबालिकाको हेरचाहमा निरन्तर खटिने बताउनुभयो । दैलेख तल्लोडुंगेश्वरका हिक्मत बादीले स्कूल, उचित स्याहार सुसारबाट बञ्चित वादी समुदायका बालबालिकालाई सुर्खेतमा आश्रय दिनुभएको छ । जसलाई बादी सरोकार मञ्च नाम दिइएको छ । बादी आवास गृहमा कर्णाली प्रदेशका १० जिल्लाबाट झन्डै ११० जना बालबालिका आश्रित छन् । सामाजिक सञ्जालमा चर्चित यूवाहरुको समूह एमआरआरले विपन्न समुदाय, अपाङ्गता भएका, महिला बालबालिका र प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।
कर्णाली समय । ३० बैशाख २०८०, शनिबार १९:२७