
सुर्खेत- अखिल नेपाल महिला संघ (अनेमसंघ) कर्णाली प्रदेशको दोस्रो प्रदेश अधिवेशन सोमबारदेखि सुर्खेतमा सुरु भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न हुने जनाइएको छ ।
अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं अनेमसंघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक सहभागिता बढाउन अनेमसंघले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् । संविधानले सुनिश्चित गरेका महिला अधिकार तथा प्रतिनिधित्वका उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै महिलाको नेतृत्व विकासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित गर्ने दिशामा अझैं संर्घष जरुरी रहेको उनको भनाई थियो ।
त्यस्तै, एमाले केन्द्रीय सचिव तथा प्रमुख वक्ता यामलाल कँडेलले समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको नीति, संगठन निर्माण र जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । भोटेकोशीमा आएको बाढीबाट सिर्जित विपद्को व्यवस्थापनमा सरकार प्रभावकारी बन्न नसकेको भन्दै कँडेलले बाढीका कारण ठूलो जनधनको क्षति हुँदा समयमै उद्धार र राहत पु¥याउन असफल भएको टिप्पणी गरे ।
अधिवेशनमा अनेमसंघको आगामी कार्यदिशा, संगठन विस्तार तथा महिला आन्दोलनलाई नयाँ पुस्तासँग जोड्ने विषयमा समेत छलफल भएको छ । अनेमसंघ प्रदेश अध्यक्ष पद्मा खड्काद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अनेमसंघले महिलालाई मतदाता र संगठनका सदस्यमा मात्र सीमित नराखी नेतृत्व तथा निर्णय तहमा पुर्याउने नीति अघि सारेको छ। आगामी निर्वाचनमा सक्षम महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीभित्र प्रभावकारी पहल गर्ने र महिला नेतृत्व विकासका लागि नियमित प्रशिक्षण सञ्चालन गर्ने प्रस्ताव अधिवेशनबाट अघि सारिएको छ।
त्यस्तै, कर्णालीका १० वटै जिल्लामा अनेमसंघको संगठनलाई वडा तहसम्म विस्तार गरी सुदृढ बनाउने तथा युवा र नयाँ पुस्ताका महिलालाई संगठनको नेतृत्वमा ल्याउन विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। अनेमसंघले महिला हिंसा, बालविवाह, छाउपडी, दाइजो र मानव बेचबिखनजस्ता सामाजिक कुरीतिविरुद्ध प्रदेशव्यापी अभियान सञ्चालन गर्ने जनाएको छ। संगठनलाई केवल कार्यक्रम गर्ने संस्थाका रूपमा नभई महिला नेतृत्व विकास गर्ने राजनीतिक विद्यालयका रूपमा विकास गर्ने राजनीतिक संकल्पसमेत अधिवेशनले अघि सारेको छ।
अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता अनेमसंघ कर्णाली प्रदेश अध्यक्ष पद्मा खड्काले गरेकी थिइन् । उद्घाटन समारोहमा अनेमसंघ केन्द्रीय उपाध्यक्ष सुमित्रा विसी, केन्द्रीय सचिव मिनासिं रखाल, एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल, एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, प्रेस चौतारी नेपालका इञ्चार्ज याम शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।अधिवेशनलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले नेपालको महिला आन्दोलनमा नेकपा (एमाले) र अनेमसंघले खेलेको भूमिकाको चर्चा गर्दै प्राप्त उपलब्धिको रक्षा र थप अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए ।



कर्णाली समय । १५ भाद्र २०८३, सोमबार २१:०३