वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन, १० बुँदे संकल्प प्रस्ताव पारित

सुर्खेत– वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको छ । ८० जना कर्मचारीहरुको सहभागितामा विहीबार वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ सम्पन्न भएको हो ।

हाल संस्थामा ८३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाका अध्यक्ष बमबहादुर बिसीले संस्थाको वर्तमान शाखलाई कायम राख्दै अझ बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारी सम्मेलनले कर्मचारीहरुको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भएको र काम गर्ने जोश जाँगर र उत्साहमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जनाए ।

बुधबारदेखि शुरु सम्मेलन आज (विहीबार) सम्पनन भएको हो । कर्मचारी सम्मेलनमा सहकारी प्रशिक्षक सञ्जयराज तिमिल्सेनाले सहजीकरण गरेका थिए ।
वीरेन्द्रनगर सहकारीको सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको छ भने करिब २४ हजार शेयर सदस्य रहेका छन् । करिब १ अर्व ३० करोडको कुल पूँजी तथा दायित्व र सम्पत्ति रहेको वीरेन्द्रनगर सहकारीले विगत २३ वर्षदेखि निरन्तर रुपमा सुर्खेत जिल्लाभर वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।
वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ बाट पारित १० बुँदे प्रतिवद्धता पत्र (संकल्प प्रस्ताव) यस्ता छन् :
१. संस्थाको कार्यक्षेत्र भित्रका जुनसुकै लिङ्ग, वर्ग, समुदाय, जाति, धर्म र भेषभुषाका मानिसहरूको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि विना भेदभाव प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्नेछौं ।
२.सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त बमोजिम एक व्यक्ति एक मतको मर्मलाई आत्मसाथ गर्दै सदस्यहरूबाट चुन्ने चुनिने र नियन्त्रण गर्ने प्रजातान्त्रिक परिपाटी र प्रणालीलाई संस्थागत गर्ने प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्नेछौं ।
३.संस्थाको आन्तरिक श्रोतलाई मजबुद बनाउनका लागि बचत तथा ऋणका सेवाहरूलाई विविधिकरण गरि सबै सदस्यलाई बचतमा सहभागी हुन प्रेरित गर्ने, आवश्यकता र क्षमताका आधारमा सदस्यको आर्थिक समस्या समाधानमा ऋण लगानी गरी सदस्यको आर्थिक जीवनको सहयोगीको रूपमा कार्य गर्नेछौं ।
४.संस्थामा सुशासन र पारदर्शिता कायम गर्नका लागि प्रचलित कानुनको अधिनमा रहि नीति, विधि र प्रविधिको विकास र सोको अक्षरस पालना गर्दै संस्थालाई राजनीतिक तथा धार्मिक रूपमा प्रभावरहित बनाउने र सदस्यबाट नियन्त्रण गर्ने प्रणालीलाई स्थापित गराउनेछौं ।
५.नियमित रूपमा अध्ययनशिल भई ज्ञान आर्जन गर्ने, हरेक काममा सिर्जनशिलता ल्याउने र आफूले सिकेको विषयवस्तुका बारेमा संस्थाको परिवार एवं समुदायमा जानकारी प्रदान गर्दै सहकारी शिक्षा र वित्तीय साक्षरता मार्फत संस्थाका वित्तीय तथा गैरवित्तीय सेवाहरुको प्रभावकारीता समुदायमा सञ्चार गर्नेछौं ।
६.स्थानीय संघ, संस्था र बन्धु सहकारीसँग निरन्तर भेटघाट, सम्बन्ध विस्तार र सहकार्य एवं समुदाय केन्द्रित कार्यक्रम मार्फत संस्थालाई समुदायमा पूर्ण रूपमा स्थापित गराउनका लागि जिम्मेवार र जवाफदेहीपूर्वक कार्य सम्पादन गर्नेछौं ।
७.समुदायको आर्थिक, सामाजिक र पर्यावरणीय विकासमा सहयोगी भई समाजबाट कुरीति, कुसंस्कार, विसङ्गतीको अन्त्य गर्नका लागि मानिसहरुलाई एकिकृत गर्ने, अभियान चलाउने, जनचेतना फैलाउने, समाजलाई जागृत बनाई स्वच्छ, स्वतन्त्र र समृद्ध समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नेछौं ।
८.संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाको साख र सदस्यको बचत सुरक्षाको प्रत्याभूति दिलाउँदै दिगो र प्रतिस्पर्धी संस्था निर्माणको परिकल्पना साकार पार्न लागि पर्नेछौं ।
९.संस्थाका सदस्य, साधारणसभा र सञ्चालक समितिप्रति उत्तरदायी भई संस्थाको समग्र वृद्धि विकासका लागि हरपल लागी पर्नेछौँ साथै कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्दै संस्थाको पहिचान र ख्याति वृद्धि गर्नका लागि आवश्यक व्यक्तिगत आचरण र व्यवहारको विकास गर्नेछौं ।
१०.वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. को वर्तमान शाखलाई कायम राख्दै थप बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा थप सिर्जनशिल, जिम्मेवार र जवाफदेही हुने दृढ संकल्प गर्दछौं ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,