
सुर्खेत- रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी मूलको व्यक्ति नेपालको प्रधानमन्त्री बनेको यो पहिलोपटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्ने बित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
त्यस्तै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् । विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी छन् । विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् । सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिकामन्त्री बनेकी छन् ।



कर्णाली समय । १३ चैत्र २०८२, शुक्रबार १३:२७