सुर्खेत– प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिनबाट बिरामीको उपचार सुरु गरिएको छ । अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले शुक्रबार करिब दुई महिनाको जडान तयारीपछि सुरुवात गरेका हुन् ।
यो मेसिन ६४ स्वतन्त्र च्यानल क्षमता तथा प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तरको मानिएको छ । नेपालकै सबैभन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहिन एमआरआई मेसिन जडानले कर्णालीबासीको उपचारमा सहज हुने अस्पतालले विश्वास लिएको छ । अस्पतालका निर्देशक खड्काले सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
चुम्बकीय शक्तिबाट चल्ने अति उच्चस्तरको यस प्रविधिले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण, मस्तिष्क वा ट्युमरको विशेष जानकारी लिन एमआरआई गर्ने गरिन्छ । आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन । एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्छ । मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमआरआई मेसिन खरिदको लागि प्रदेश अस्पताल सुर्खेतलाई २९ करोड ७१ लाख रुपैयाँ उपलब्ध गराएको थियो । यो मेसिन २०२३ मा निर्मित भएर परिक्षण गरिएको हो ।
कर्णाली समय । २९ भाद्र २०८०, शुक्रबार ११:११