कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

सुर्खेत–कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्र र एकिकृत समाजवादीको सर्मथनमा प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नियुक्त हुनु अघि नेता कँडेलले तीन दलका तर्फबाट समर्थन दाबी पेश गरेका थिए । कर्णाली प्रदेश सरकार गठन हुनु अघि २१ सांसद आवश्यक पर्छ । यहाँ सत्ता गठबन्धनको २४ सिट छ ।
मुख्यमन्त्री नियुक्तिको दाबी पेश गर्न नेता कँडेल, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले केन्द्रीय सचिव लेखराज भट्ट, माओवादी केन्द्रका प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी लगायतका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । सत्तारुढ गठबन्धनमा भएको प्रदेशको भागबण्डामा कर्णाली प्रदेशका यसपटक एमालेको भागमा परेपछि कँडेललाई मुख्यमन्त्री हुने ढोका खुलेको हो ।

नवनियुक्त मुख्यमन्त्री कँडेल एमाले स्थायी कमिटी सदस्य हुन् । पार्टी राजनीति र संसदीय अभ्यासमा छुट्टै पहिचान राख्ने नेताका रूपमा पनि उनी चिनिन्छन् । प्रस्ट र खरो विचार राख्ने कँडेल एमाले पार्टी राजनीतिमा विद्रोही स्वभावले परिचित छन् । संसदीय राजनीतिमा पनि उनी पुराना र अनुभवी नेता हुन । २०७४ को चुनावमा कर्णालीमा पहिलो दल बनेको एमाले अहिले तेस्रो दलको हैसियतमा पुगेको छ । झण्डै बहुमतसहितको पहिलो दल बन्दा मुख्यमन्त्री बन्न नपाएका कँडेलको काँधमा तेस्रो दल हुँदा कर्णालीको बागडोर परेको छ ।

यस्तो छ कँडेलको राजनीतिक पृष्ठभूमि
२५ कात्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाइबान्नामा बुबा मनिराम कँडेल र आमा भागिरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनुपूर्व शिक्षण पेशामा संलग्न थिए । २०३६ मा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए, कँडेल । चार जनाले सहादत’ प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो । उनी त्यति बेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए ।

किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवारसम्म पुग्यो । तर, उनी नेविसंघका उम्मेदवार सुर्खेतका हृदयराम थानीसँग पराजित भए । २०४२÷४३ मा झण्डै नौ महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए । २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल क्रियाशील राजनीतिमा संलग्न भएका थिए ।

२०४९ मा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए । २०४९ को स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका थिए कँडेल । २०५१ मा मेयर पदबाट राजीनामा दिई मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै पहिलोपटक संसदीय अभ्यासमा प्रवेश गरेको अनुभव कँडेलसँग छ । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा थानीसँग हारेको बदला कँडेलले प्रतिनिधिसभा सदस्य चुनावमा लिएका थिए ।

२०५१ मा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए । मालेमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । २०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा कँडेल कांग्रेसका हृदयराम थानीसँग पराजित भए । २०६४ मा एमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०७० मा पुनः सोही क्षेत्रबाट कांग्रेसका हृदयराम थानीसँग कँडेल पराजित भए । यस्तै, २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्ष निर्वाचित भएका कँडेल एमाले प्रदेशसभा संसदीय दलको नेतासमेत हुन् ।

कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य छन् । कर्णालीको इन्चार्जसमेत भइसकेका उनी हाल स्थायी कमिटी सदस्य र दैलेख इञ्चार्जको जिम्मेवारीमा छन् । एमाले–माओवादी एकताबाट बनेको नेकपाकालमा कर्णाली प्रदेशको सहइञ्चार्ज र स्थायी कमिटी सदस्य रही काम गरेको अनुभव कँडेलसँग छ । कँडेलले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् भने भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा तथा बेलायतलगायतका देशहरूमा वैदेशिक भ्रमण गएको अनुभव सँगालेका छन् ।