कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणले पायो पूर्णता

सुर्खेत– निर्माण सुरु भएको करिब सात वर्षपछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनले पूर्णता पाएको छ । टावर निर्माण, विद्युत् तार तान्ने काम पुरा भएसंगै वीरेन्द्रनगर–११ सुब्बाकुनास्थित सब–स्टेसनमा विद्युत चार्ज गर्ने तयारी थालिएको छ ।

कोहलपुरदेखि सुब्बाकुनासम्मको ५२ किलोमिटर दूरीमा पोल तथा तारमा रुखका हाँगा–विंगा छोए नछोएको सुनिश्चित गर्न पेट्रोलिङ कार्यसमेत सुरु गरिएको छ । आयोजनाले अबको एक साताभित्र सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्य लिएको छ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले शुक्रबारदेखि कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेशनमा विद्युत लाइन जोडेर परीक्षण प्रशारण सुरु गरिने बताए । उनका अनुसार विस्तारित विद्युत प्रशारण लाइन उद्घाटन गर्नुअघि लाइन छोडेर पटक÷पटक जाँच गरिनेछ । ‘ड्रोनले तार तान्ने क्रममा हर्रे क्षेत्रमा अप्ठ्यारो भूगोल र बाक्लो हुस्सुका कारण काममा केही कठिनाई भोग्नुप¥यो, उनले भने, ‘निकुञ्जको क्षेत्र भएका कारण तार तान्दा थप रुखहरु काट्नुपर्ने र काटेका रुखहरु आयोजनाले नै लिएर लिएर दिनुपर्ने निकुञ्जको नियम भएकाले ड्रोनबाट तार तान्ने निर्णय गरिएको थियो ।’

कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । यो प्रशारण लाइन सुर्खेत हुँदै, दैलेख, जुम्ला र कालीकोटसम्म पुग्नेछ । पछिल्लो चरणमा सुर्खेतदेखि दैलेखको चुप्रासम्मको यो प्रशारण लाइनको पनि काम भइरहेको छ । चुप्रामा सबस्टेशन निर्माण र सुर्खेतदेखि चुप्राको बीचमा टावर निर्माणको काम भइरहेको हो ।
२०४५ सालमा बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म पहिलोपटक ३३ केभी लाइन विस्तार गरिएको थियो । उक्त लाइन साना सिटी पोलमार्फत जंगलको बीचमा भएकाले पानी पर्दा, हावा चल्दा यो लाइन बारम्बार अवरुद्ध हुने, सुख्खा सिजनमा भोल्टेज लो हुने गरेको थियो । एंगल टावरसहितको १३२ केभी प्रसारण लाइन निर्माण भएपछि सुर्खेत र आसपास यो लाइनबाट वितरण भएको क्षेत्रका विद्युत ग्राहकले उक्त समस्याबाट केही राहत पाउने अपेक्षा गरिएको छ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा पाएको थियो । दुई वर्षभित्र काम सक्ने गरी २०७६ असार २२ मा ६५ करोड रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको थियो । २०७८ असार २३ भित्र सकिनुपर्ने आयोजनाको काम चार बर्ष ढिला भएको हो । राष्ट्रिय निकुञ्ज भित्रका रुख कटानको प्रक्रियामा ढिलाइ, बारम्बार स्थानीयको अवरोध लगायतका कारणले आयोजना लम्बिएको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन विस्तार गर्न १३ हजार रुख काट्नुपरेको थियो । आयोजना बन्ने अधिकांश भूभाग निकुञ्जको परेकाले निकुञ्जको नियमअनुसार प्रक्रिया पूरा गरी रुखहरु काट्न मात्र तीन वर्षभन्दा बढी समय लागेको थियो ।

बाँकेको वैजनाथ गाउँपालिका–१ गाभर र वडा ४ को बानियाँभार, सुर्खेतको सुब्बाकुनाका स्थानीयबाट जग्गा भोगाधिकारका विषयमा पटक/पटक अवरोध सिर्जना भएको थियो । बानियाँभारका स्थानीयले अदालतमै रिट हालेका थिए । अदालतले आयोजनाको पक्षमा हुने गरि आदेश गरेपछि सबैभन्दा पछि यो क्षेत्रमा तीन वटा टावर निर्माणको काम अघि बढेको थियो ।

यो आयोजना पुरा भएपछि कर्णालीबासी हर्षित बनेका छन् । विशेषगरी उद्योगी व्यवसायी लो भोल्टेजको मारमा थिए । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेल १३२ केभी प्रशारणलाइनको सफलताले गर्दा कर्णालीको उज्यालोको नयाँ युगमा प्रवेश गरेको बताउँछन् । यो आयोजनाले कर्णालीमा उद्योग व्यवसाय सञ्चालनको ढोका खुलेको व्यवसायीहरुको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,