शुक्रबार कांक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुने

सुर्खेत–वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा यही शुक्रबार (असार १३ गते) कांक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सवका साथै युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन, विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रर्दशनी समेत हुने वडा कार्यालयले जनाएको छ ।

सम्मेलनमा कांक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक अध्ययनमा आधारित कार्यपत्र प्रस्तुति तथा टिप्पणी, कांक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिता, सपनाको कांक्रेविहार शिर्षकमा चित्रकला प्रतियोगिता र स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता सञ्चालन हुनेछ । वक्तृत्वकलामा कक्षा ९ देखि १२, चित्रकलामा कक्षा ६ देखि ८ र नृत्य प्रतियोगितामा कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीले भाग लिनेछन् ।

वडाध्यक्ष ऋषि गिरीले महोत्सवमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए । वीरेन्द्रनगर ९ स्थित संरक्षित वन क्षेत्रमा रहेको कांक्रेविहार पुरातात्विक र ऐतिहासिक सम्पदा हो । यो सुर्खेतको मात्र नभई कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलमा पर्दछ ।

कांक्रेविहारको बेजोड कलाकृति, ऐतिहासिकता, पुरातात्विक पक्ष लगायतका बारेमा थप खोज अनुसन्धान र प्रर्वद्धन जरुरी रहेकाले महोत्सव आयोजना गरिएको वडाध्यक्ष गिरीले बताए । महोत्सव कांक्रेविहार परिसरमा सञ्चालन हुनेछ ।