सुर्खेतका १२ विद्यालयमा मनोसामाजिक परामर्श शिक्षा

सुर्खेत– सुर्खेतका १२ विद्यालयमा किशोरकिशोरीको मानसिक स्वास्थ्य, दौंतरी शिक्षालाई मध्यनजर गरी सामाजिक भावनात्मक शिक्षासम्बन्धी प्याकेज सञ्चालन गरिएको छ । डब्लुएचओ र युनिसेफले तयार गरेको शिक्षण सामग्रीका आधारमा बहुसांस्कृतिक, मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले मनोसामाजिक परामर्शकर्ता मार्फत फेब्रुअरीदेखि कक्षा सञ्चालन गरेको हो ।

वीरेन्द्रनगरस्थित अमरज्योति माविको सम्मानपछि टिपिओ नेपालका मनोसामाजिक परामर्शकर्ता

टिपिओ नेपालको यो नेपालमै नमूना (पाइलटिङ) कार्यक्रम हो । पाठ्यक्रम १३ देखि १९ दिनसम्मको तयार गरिएको छ । १४ जना मनोसामाजिक परामर्शकर्ताले ६ देखि १२ कक्षाका १० वर्षदेखि १९ वर्ष उमेरका विद्यार्थीलाई प्रदान गरेका छन् । वीरेन्द्रनगरका ९ र गुर्भाकोटका ३ विद्यालयमा यस्तो कक्षा प्रदान गरिएको छ ।

टिपिओ नेपालका बखत भण्डारीका अनुसार विद्यार्थीलाई २० प्रतिशत व्याख्या, ४० प्रतिशत अन्र्तक्रिया, संवाद र ४० प्रतिशत क्रियाकलाप, नाटक एवं कलामार्फत सिकाउने गरिएको छ । टिपिओ नेपालले स्थानीय तह र सामाजिक विकास मन्त्रालयबाट किशोरकिशोरीको मनोस्वास्थ्य, दौंतरी शिक्षा र बालबालिका र अभिभावकको सुस्वास्थ्य, मनोवैज्ञानिक सहयोग प्याकेज सञ्चालनसम्बन्धी अनुमति लिएको थियो ।

टुलकिटमा भावनात्मक नियमन, तनाव व्यवस्थापन, आत्म सम्मान, समस्या समाधानको खोजी, लागूपदार्थ तथा मदिरा सेवनसम्बन्धी जानकारी र निर्णय, अन्तरव्यक्ति कौशल, द्धन्द्ध व्यवस्थापन, एक अर्कालाई सहयोगी सम्बन्ध बनाउने, सम्मानभाव व्यक्त गर्ने, किशोरकिशोरी वृत्ति, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी, बुलिङ लगायतका विषयवस्तुहरु समावेश छन् । कक्षा समापनपछि शिक्षा, स्वास्थ्य लगायतका कार्यालयका प्रतिनिधिसहित संयुक्त अनुगमन गरिएको थियो ।