सुर्खेत- प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक म्यानेटिक रिजोनिन्स इमेजिंग (एमआरआई) मेसिन सञ्चालनमा ल्याइएको छ । एमआरआई मेसिनबाट एक वर्ष अघिदेखि बिरामीको उपचार सेवा सुरू गरिएपनि औपचारिक उद्घाटन भएको थिएन ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुखेत बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार गरिँदै आएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सहितको आवाजविहीन उच्च गुणस्तरको छ । मेसिन सञ्चालनमा आएसँगै आवश्यक परेको खण्डमा २४ सै घण्टा अस्पतालले सेवा दिन सक्नेछ ।
देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । मेसिन जडानसँगै प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकले एकै दिनमा रिपोर्ट दिन सक्नेछन् । निर्देशक खड्काले भने, ‘अस्पतालले हालसम्म २५ करोड ५९ लाख रकम मौज्दात राख्न सफल भएको छ, केही आवश्यक उपकरण पनि किनिरहेका छौं, अस्पतालमा कार्यरत कर्मचारीका पाँच जना परिवारको बीमा गर्दा अस्पतालले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने गरेको छ ।’
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको हो । पाँच वर्ष ग्यारेन्टी भएको मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको थियो । चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ ।
मेसिन उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन निर्देशन दिए । प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए ।
कर्णाली समय । २८ भाद्र २०८१, शुक्रबार १७:०६