एमयूले फेरी तोक्यो स्ववियू निर्वाचनको मिति

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालय एमयू) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।


यसअघि पटक–पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित भएको थियो । निर्वाचनका लागि विश्वविद्यालयले सह–प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन कार्यतालिका अनुसार यही चैत ७ बाट निर्वाचन प्रक्रिया सुरु भएर १८ चैतमा मतदान हुनेछ । ७ चैत्रमा विद्यार्थी संघ/सङ्गठन दर्ता गर्ने, ८ गते मतदाता नामावली उपर दाबी विरोध र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । चैत्र १२ गते उम्मेदवारहरूको प्रथम नामावलीको सूची प्रकाशन र उम्मेदवारहरूको विरोधमा उजुरी दिन सकिने छ । १३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १५ गते राति १२ बजे देखि मौन अवधि सुरु हुने र १८ गते बिहान ७ बजे देखि अपराह्न ५ बजे सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ ।

८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु नेतृत्वविहीन छ ।
तीन वर्षपछि ५ चैत २०७९ मा तय भएको निर्वाचन तालिकामा केही विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

पुनः २८ भदौ २०८१ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै २६ भदौमा बायोलोजी समूह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू अदालत पुगेका थिए । सोही विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो ।

विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु नेतृत्वविहीन बनेपछि उच्च अदालत सुर्खेतले गत माघमा २० चैत २०८१ भित्र निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयलाई आदेश दिएको थियो । सोही आदेशको कार्यान्वयन गराउन विश्वविद्यालयले १८ चैत्रमा निर्वाचन मिति तय गरेको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,