सुर्खेत- कर्णाली प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आव २०८१/८२ का लागि ३ अर्ब ५९ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार १५ औं नगर सभामा उप-प्रमुख निलकण्ठ खनालले आगामी आवका लागि ३ अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बजेट सार्वजनिक गरे ।
जसमध्ये चालूतर्फ १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार ९९९ अथार्त ४८ दशमलब ९३, तथा पुँजीगततर्फ १ अर्ब ४३ करोड ४५ लाख ५१ दशमलब ०७ प्रतिशत विनियोजन गरिएको छ ।
वीरेन्द्रनगरले कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पतालमा ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ । महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगर स्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
वीरेन्द्रनगरको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिंदै शहरी सौन्दर्यताका पूर्वाधारहरुलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकावाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङ स्थल निर्माणका लागि रु. ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट विनियोजन गरिएको छ ।
बजेटका महत्वपूर्ण अंशहरु यस्ता छन् :
बजेटको लक्ष्यः
शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ अघि बढी वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध शहरी सुविधायुक्त, लैंगिक रुपमा महिला मैत्री, सामाजिक रुपले समावेशी÷सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा निर्माण गर्दै कर्णाली प्रदेशको ब्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिईएको छ ।
बजेटका उद्देश्यहरु :
-पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि र शहरी सौन्दर्यताका साथ जीवनयापन सहजता ल्याउने ।
-स्वच्छ खानेपानी तथा सरसफाईमा नगरबासीको सहज पहुँचमा वृद्धि गर्दे नगरमा भएको खानेपानी समस्यालाई दीगो ब्यवस्थापनको थालनी गर्ने ।
-कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै महिलाहरुको संलग्नतामा विभिन्न उत्पादनमा नगरलाई आत्मनिर्भर उन्मुख वनाउने ।
-नगरपालिकालाई प्रदेशकै प्रमुख शैक्षिक गन्तब्य बन्ने आधार तयार गर्ने ।
-गुणस्तरीय विद्यालय शिक्षामा सवै बाल बालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्ने ।
-युवाहरुमा अनुशासन, सक्षमता र स्वाबलम्बनको विकास गर्न युवा प्रतिभा पहिचान तथा प्रबर्द्धनका कार्य गर्ने ।
-राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक शहरका रुपमा व्यवस्थित आथित्यता प्रदान गर्दे स्थानीय पर्यटन प्रवर्धनको अवसरका रुपमा लिने ।
-आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउनुका साथै महिला र बालबालिका विशेषज्ञ अस्पतालको व्यवस्थित सञ्चालन गर्ने ।
विद्युतीय सुशासनको क्रमशः विस्तार गर्दै लैजाने ।
-आगलागी नियन्त्रणका लागि थप क्षमताका लागि संस्थागत विकास गर्दे विपदजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारीमा रहने ।
-उद्यम व्यवसाय विकासमा महिलाहरुको अर्थपूर्ण सहभागितामा बृद्धि गरी आय आर्जनमा क्रियाशील गराउने ।
-राजस्वको दायरा फराकिलो बनाउदै घर दैलो सेवा तथा विद्युतीय राजस्व संकलन प्रणाली मार्फत नगरको आन्तरिक आय वृद्धि गर्ने ।
-श्रोतमा नै फोहरको वर्गीकरण गर्दे वातावरण मैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्ने ।
-नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्य र आय आर्जनसंग जोडिने गरी योजनाबद्ध रुपमा अगाडी वढ्ने ।
-समक्ष सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दे उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्ने ।
-संघीय सरकार र प्रदेश सरकारका नीति तथा कार्यक्रमसंग सहकार्य गरी विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने ।
बजेट विनियोजन :
क) राजश्व तथा वित्त व्यवस्थापनतर्फ
१. आर्थिक वर्ष ०८१/०८२ का लागि स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधन सहित र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवं सहुलियत दिने नीति लिईनेछ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा कर प्रणालीमा सुधार गरी रु. ३६ करोड ८३ लाख ४ हजार (घर जग्गा रजिष्टेशन तथा दहत्तर वहत्तर वाहेक) संकलन गरिने लक्ष्य लिइएको छ ।
२. नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।
३. नगरपालिकाले कानुन बमोजिम लिने घरवहाल कर, व्यवसायकर जस्ता नगरका प्रमुख श्रोतका रुपमा रहेका करहरु प्रत्येक वडा कार्यालयवाट टोल विकास संस्था तथा निजी क्षेत्रसंगको सहकार्यमा कर संकलन गरिनेछ । यसरी संकलित ब्यवसाय कर र घरवहाल करवाट प्राप्त रकमको १५ प्रतिशत रकम वडा कार्यालयलाई कर असुलीमा सहयोग गर्ने टोल तथा नीजि क्षेत्रलाई माग अनुसारका आवश्यक पूर्वाधार, सडक वत्ती, सरसफाई, विपद् व्यवस्थापन र अत्यावश्यक सार्वजनिक सेवा ब्यवस्थापन तथा राजस्व असुलीका कार्यक्रम संचालन गर्न प्रोत्साहन अनुदान उपलब्ध गराइने छ । राजस्व वृद्धिका लागि कर्मचारी, टोल विकास संस्था र नीजि क्षेत्र परिचालनका लागि लागि रु. ५१ लाख बजेट विनियोजन गरिएको छ ।
ख) पूर्वाधार विकास तर्फ
४. उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरीको पानी लिफ्टिङ्ग आयोजना अगाडि वढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरुसंग सहकार्य गर्न आवश्यक रु. १० करोड म्याचिङ फण्ड ।
५. वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन ।
६. कर्णाली प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिंदै राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधारहरुलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकावाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किड स्थल निर्माणका लागि रु. ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट ।
७. शहरी पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा कम्तिमा एक वटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी प्रत्येक वडामा ९० लाख भन्दा वढीका पूर्वाधार विकासको वजेट ।
ग) सामाजिक विकास तर्फ
८. यस नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रुपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सवै बालबालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्न सशर्त बाहेक ६ करोड ४७ लाख ९२ हजार विनियोजन ।
९. नगरपालिकाका युवाहरुको क्षमता विकास गर्न तथा युवाहरुलाई नगर समृद्धिको अभियानमा परिचालन गर्नका लागि नगर उपप्रमुख युवा विकास कार्यक्रम सञ्चालन गर्नका लागि रु. ४० लाख विनियोजन गरेको छु । समग्र खेलकुद क्षेत्रको प्रबर्धनसहित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल १ करोड ४२ लाख ७५ हजार विनियोजन ।
१०. आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउनुका साथै विभिन्न महामारीसंग सामना गर्न सक्ने स्वास्थ्य संस्था वनाउन सशर्त बाहेक २ करोड ५५ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताल सञ्चालन गर्न रु १ करोड १० लाख बजेट विनियोजन ।
११. विकास प्रकृयामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा बृद्धि गर्दै अर्थपूर्ण सहभागितामा बृद्धि गराउन, युवाहरुमा अनुशासन, सक्षमता, स्वावलम्वन, भविष्यप्रति सम्वेदनशीलताको विकास गर्न विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि सशर्त बाहेक नगरस्तरीय वजेट १ करोड १६ लाख ३० हजार सहित वडा स्तरमा समेत यस प्रकारका कार्यक्रम संचालन गर्न यथोचित वजेट ।
१२. कर्णाली प्रदेशका सबै स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरुको प्रदेशस्तरीय सम्मेलन आयोजना गर्नका लागि रु. १० लाख विनियोजन ।
घ) आर्थिक विकास तर्फ
१३. कृषि व्यवसायमा महिलाहरुको सहभागितामा बृद्धि गर्दै कृषि तथा पशुपालन पेशा व्यावसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै देशमा उत्पन्न हुन सक्ने खाद्य संकटसंग सामना गर्दे नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर वनाउन मेयरसंग महिला किसान कार्यक्रम संचालन गर्न रु. १ करोड ६० लाख सहित कृषि तथा पशु विकासतर्फ नगर र वडातहवाट कार्यक्रम संचालन गर्न यथोचित वजेट ।
१४. युवाहरुलाई उद्यम ब्यवसायमा उत्प्रेरित गर्दे युवा उद्यमी तथा ब्यवसायी तयार गर्न नगर प्रमुख उद्यम दायित्व साझेदारी कार्यक्रम सञ्चालन गर्न वजेट ।
१५. चालु आर्थिक बर्षभित्र नगरभित्रका भूमीहिनहरुलाई पूर्जा वितरणको कार्य गर्न सो को व्यवस्थापनका लागि रु. १ करोड ११ लाख विनियोजन ।
१६. सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवर्द्धन र युवा उद्यमजस्ता कार्यक्रमका लागि नगर स्तरीय बजेटवाट रु. ६१ लाख ५० हजार व्यवस्था गर्दे प्रत्येक वडामा यस क्षेत्रमा लगानी गर्न यथोचित बजेटको विनियोजन ।
ङ) वन, वातावरण तथा विपद् व्यवस्थापन
१७. श्रोतमा नै फोहरको वर्गीकरण गर्दे वातावरणमैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्न रु. ८८ लाख ८७ हजार विनियोजन ।
१८. नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्य र आय आर्जनसंग जोडिने गरी योजनाबद्ध रुपमा अगाडी वढाउन रु. ६२ लाख विनियोजन ।
१९. आगलागी नियन्त्रणका लागि थप संस्थागत क्षमता विकास गर्नका लागि दमकल खरिद गर्न रु. ८० लाख सहित विपदजन्य जोखिम न्यूनिकरणका लागि पूर्व तयारीमा रहन थप रु. ३३ लाख ५० हजार विनियोजन ।
२०. वन वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संग समन्वय एवं सहकार्य गर्ने गरी वडा तथा नगर स्तरवाट कार्यान्वयन हुने गरी यथोचित बजेट विनियोजन ।
च) सार्वजनिक सेवा तथा क्षमता विकास
२१. समय सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दे उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्न रु. ९८ लाख ९५ हजार विनियोजन ।
२२. नगरको स्थानगत आवधिक योजना, प्रोफाईल निर्माण, सुशासन प्रवर्द्धन, कर्मचारी पदाधिकारीहरुको क्षमता विकास, सञ्चारकर्मीको प्रोत्साहन तथा मिडिया परिचालन गर्न र न्यायिक सेवा व्यवस्थापन गर्न यथोचित बजेटको व्यवस्थापन गर्दै सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्रमा वडा तथा नगर स्तरवाट कार्यान्वयन हुने गरी सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ यथोचित वजेट विनियोजन ।
२३. नगरको सेवालाई नियमन गर्न नगर प्रहरी नियक्ति गरी परिचालन गर्न चालूतर्फको बजेटबाट समेत यथोचित बजेट ।
२४. कर्णाली प्रदेशका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको प्रदेश स्तरीय सम्मेलन गर्नका लागि रु १० लाख विनियोजन ।
खर्च व्यहोर्ने स्रोत:
१. संघीय वित्तीय सामानीकरण अनुदान रु. २४ करोड १२ लाख
२. संघीय सर्शत अनुदान रु. १ अर्व ६९ करोड २८ लाख ५१ हजार ३६
३. संघीय राजश्व बाँडफाँड रु. १८ करोड ९८ लाख ८१ हजार ९०
४. संघीय सरकार विशेष अनुदान पूँजीगत रु. १ करोड ५० लाख
५. संघीय सरकार समपूरक अनुदान पूँजीगत रु. १ करोड,
६. संघिय सरकार रोयल्टी रु. ८ लाख १८ हजार ८ सय ७३
७. प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. २ करोड ९९ लाख १४ हजार
८. प्रदेश सशर्त अनुदान रु. २८ करोड १३ लाख ३८ हजार
९. प्रदेश राजश्वव बाँडफाँड रु. ६४ लाख ७५ हजार १ सय ४८
१०. घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन रु. १४ करोड ३६लाख ५८ हजार ८ सय ५२
११. दहत्तर वहत्तर शुल्क रु. २ करोड ५० लाख
११. नगरपालिकाको आन्तरिक आय रु. ३६ करोड ८३ लाख ४ हजार
१२. आर्थिक बर्ष २०८०/८१ को खर्च नभई मौज्दात रहने रकम बाट रु. १८ करोड ७४ लाख २८ हजार
१३. सामाजिक सुरक्षा अनुदान रु. ४० करोड
कार्यक्रम कार्यान्वयनको लागि स्रोत व्यवस्थापनको विनियोजन :
-तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३१ करोड ५० लाख
-खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु. १० करोड
-वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु. १७ करोड २० लाख
-मेयरसंग महिला किसान कार्यक्रमका लागि रु. १ करोड ६० लाख
-वडास्तरीय नगर गौरव आयोजनाका लागि रु. ८ करोड
-नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु
-कृषि विकास कार्यक्रम तर्फ रु.५६ लाख ५० हजार
-पशुपन्छी विकास कार्यक्रम तर्फ रु. ४५ लाख ६० हजार
-उद्यम सहकारी तथा उपभोक्ता हित तर्फ रु. ६१ लाख ५० हजार
-जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पताल तर्फ रु. ४ करोड ५ लाख ५८ हजार
-महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ रु. १ करोड १६ लाख ३० हजार
-शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार
-वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन तर्फ २ करोड ६४ लाख २० हजार
-सार्वजनिक सेवा तथा सुशासन तर्फ २ करोड १७ लाख ४५ हजार
-नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार
-कृर्षि, पशु, खानेपानी, शुसासन तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, झोलुङ्गे पुल जस्ता कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रु. १ अर्व ६९ करोड २८ लाख ५१ हजार,
-संघीय सरकारबाट प्राप्त विशेष अनुदान रु. १ करोड ५० लाख
-संघीय सरकारबाट प्राप्त आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक अनुदान रु १ करोड
-प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रु. २८ करोड १३ लाख ३८ हजार
-संघीय सरकारबाट प्राप्त सामाजिक सुरक्षा कार्यक्रमका लागि रु. ४० करोड

कर्णाली समय । ११ असार २०८१, सोमबार २१:४०