मंगलगढीमा बन्दैछ, वीरेन्द्रनगरमै पहिलो आकाशेपुल

सुर्खेत– पैदल यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न वीरेन्द्रनगरमा पहिलोपटक आकाशे पुल निर्माण थालिएको छ । आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने कार्यादेशका साथ पाइलटिङ प्रोजेक्टका रुपमा मंगलगढी चोकमा काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख मोहनमाया ढकालले नगर गौरवको आयोजना अन्तर्गत आकाशे पुल निर्माण गर्न लागिएको बताइन् । पुल निर्माणको जिम्मा अर्जुन कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । नगरपालिकाका इन्जिनियर इश्वरी ढकालका अनुसार २०८२ पुस २६ देखि २०८३ जेठ ३१ गतेसम्म निर्माण सक्ने गरी सम्झौता गरिएको छ । आयोजनाको लागत भ्याटबाहेक ९९ लाख ९३ हजार रहेको छ । ‘यो वर्ष पाइलट प्रोजेक्टको रूपमा मंगलगढीमा काम अघि बढाइएको हो, उनले भने, आगामी वर्षमा पुल सफल रूपमा प्रयोगमा आएको खण्डमा अन्य ठाउँमा पनि आकाशे पुल निर्माण गरिनेछ ।’ दोस्रो चरणमा बसपार्क, यरिचोक, एयरपोर्ट चोक लगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिने तयारी छ ।

सवारीसाधनको चाप बढेसंगै वीरेन्द्रनगरमा पैदल यात्रुहरुले असुरक्षित महसुस गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती पनि जडान गरेको छ । अहिलेसम्म नगरपालिकाले दुई सय ३२ वटा ट्राफिक बत्ती जडान गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ बाट ट्राफिक बत्ती जडानको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष पनि एक सय २० वटा ट्राफिक बत्ती जडान गर्न लागिएको छ ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरू अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आइटी जोनजस्ता शहरी पूर्वाधार निर्माणका काम धमाधम रूपमा अघि बढाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,