
सुर्खेत– “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ विश्व वातावरण दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाले प्लाष्टिक कैद प्रतियोगिता तथा फोहोर सेग्रिगेशन कार्यशाला सम्पन्न गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको आयोजनामा तथा वीरेन्द्रनगर जुनियर जेसीसको समन्वयमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । प्लाष्टिक कैद प्रतियोगितामा सुर्खेत होराइजन एकेडेमी प्रथम, ग्रिनल्याण्ड एकेडेमी द्वितीय तथा सुर्योदय बोर्डिंग स्कुल तृतीय भएका छन् । कार्यक्रमका क्रममा विभिन्न स्थानबाट १८ क्विन्टल फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर जुनियर जेसीस २०२६ का अध्यक्ष रोशन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा, विभिन्न वडाका अध्यक्षहरू, विषयगत शाखाका प्रमुख, वातावरण अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले वीरेन्द्रनगरलाई वातावरणमैत्री सहरका रूपमा विकास गर्ने अभियानलाई निरन्तरता दिइएको बताइन् । उनले वातावरणमैत्री वडा घोषणा गर्ने कार्यहरू अघि बढिरहेको र हरित सहरको परिकल्पनाअनुसार सडक आसपासमा वृक्षारोपण कार्यलाई निरन्तरता दिँदै आएको जानकारी दिइन् । वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा प्लाष्टिकजन्य प्रदूषण न्यूनीकरणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाको वातावरण तथा विपद् शाखाले जनाएको छ ।



कर्णाली समय । २३ जेष्ठ २०८३, शनिबार ११:५४